Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय बालविवाह रोक्न जरुरी

सम्पादकीय

बालविवाह रोक्न जरुरी

नेपालको कानूनले बालविवाहलाई गैरकानूनी भनेपनि मुलुकका कतिपय स्थानमा बालविवाह गर्ने परम्परा कायमै छ । नेपाल सरकारले २० बर्ष पुगेपछिमात्र विवाह गर्न उत्प्रेरित गर्दै आएको छ । नेपालको कानूनले कसैलाई पनि १८ बर्ष पुगेपछिमात्र आफूखुसी विवाह गर्न पाइने व्यवस्था गरेको छ । परिवारको स्वीकृतिमा १६ बर्ष पुगेपछि गरेको विवाहलाई पनि कानूनले मान्यता दिएको छ, तर कतिपय जाति र समुदायमा अहिले पनि जन्मिने बित्तिकै वा सानै उमेरमा बालबालिकाको विवाह गरिदिने प्रचलन रहेको छ । खासगरी अशिक्षित, गरीब, दलित, आदिवासी र जनजातिहरुमा यो प्रचलन ज्यादा छ । नेपाल हिन्दू धर्मावलम्बी बाहुल्यता भएको मुलुक हो । हिन्दूहरुको धार्मिक मान्यताले महिलाको रजश्वला हुनुअगाडि विवाह गर्नु उपयुक्त मान्दछ । तराईमा ब्याप्त दाइजो प्रथाको कारण पनि धेरै अभिभावकहरु छोरीको विवाह सकेसम्म छिटो सकेर बस्न चाहन्छन् । कतिपय जातजातिमा आफ्ना सन्तानको विवाह जन्मने बित्तिकै गरिदिने प्रचलन पनि छ । अशिक्षाको कारण कतिपय बालबालिका उमेर नहुँदै भागी विवाह पनि गर्छन् । यसरी बालविवाहलाई कानूनले बर्जित गरेपनि ब्यवहारमा यसको निरन्तरता कायमै छ । खासगरी नेपालको पहाडी र भित्री मधेसमा बसोबास गर्ने दलित र जनजातिमा यो प्रथा सबैभन्दा बढी पाइन्छ । सन् २०११ मा गरिएको एक अध्ययनले नेपाल विश्वको बालविवाह गर्ने मुलुकमध्ये १९ औँ स्थानमा परेको छ । यसैगरी राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १५ देखि १९ वर्ष उमेरमा विवाह गर्ने बालबालिकाहरूको संख्या २८ दशमलव ८ प्रतिशत देखाएको छ । यी तथ्याङ्कहरुले पनि नेपाली समाजमा बालविवाह ब्याप्त रहेको देखाउँछ । महिला र पुरुष एक्लाएक्लै बस्ने हो भने संसार चल्दैन । महिला र पुरुष सहकार्यको आवश्यकता भएर नै मानव जीवनमा वैवाहिक परम्परा शुरु भएको हो । विवाहले मात्र एउटा घर पूर्ण बन्छ, उनीहरुबाट बालबच्चा हुन्छ र सृष्टि चल्छ । तर, उमेर नपुगीकन, केटाकेटी आपसमा राजी नभैकन, उनीहरु शारिरीक, मानसिक र ब्यावहारिक रुपमा तयार नभैकन विवाह गरिनु उचित हुँदैन । त्यसरी गरेको विवाह लामो समय नचल्न अथवा असफल बन्न पनि सक्छ । एकपटक विवाह गरिसकेपछि कुरा मिलेन भनेर साट्न वा फिर्ता गर्न हाम्रो परम्पराले दिँदैन । यस्तोमा जो कसैले विवाह जानीबुझीकन, आफूले इच्छाएको ब्यक्तिसँगमात्र गर्नुपर्दछ । बालविवाहमा यस्तो सम्भव हुँदैन र त्यो घर लामो समयसम्म नचल्न पनि सक्छ । यस्तो जान्दाजान्दै पनि नेपाली समाजमा बालविवाह गर्ने प्रचलन कायमै छ । यसैले बालविवाह हटाउन समाजका सचेत नागरिक र सरोकारवाला सबैले भूमिका खेल्न जरुरी छ ।