सम्पादकीय

फोहोर पानी व्यवस्थापन गर

भरतपुर कारागारबाट निस्कने फोहोर पानीको व्यवस्थापन गर्न नसक्दा त्यहाँका कैदीबन्दीले कष्टकर जीवन बिताउन बाध्य भएका छन् । कारागारमा क्षमताभन्दा चार गुणाबढी कैदीबन्दी छन् । करिब छ सयको संख्यामा रहेका कैदीबन्दीले प्रयोग गरेको फोहोर पानीको निकास नहुँदा समस्या परेको हो । यसअघि कारागारका कैदीबन्दीहरुले नुहाईधुवाई र भान्सा सरसफाई गर्दा निस्केको फोहोर पानी नजिकैको नहरमा लगेर छाडिन्थ्यो । केही समययता स्थानीयले नहर मासेर सडक बनाएपछि कारागारभित्रबाट पानीको निकास बन्द हुन पुग्यो । यसले कारागारबाट निस्केको फोहोर पानी अन्यत्र जान पाएन । वर्षामा यसै पनि भरतपुर कारागार वरपर डुबाउ हुन्छ । पानीको निकास बन्द भएपछि कारागारको हालत कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । हिउँदमा पानीको खपत कम हुन्छ, सुख्खा मौसममा पनि चर्को घामले जमेको पानी सुक्छ र त्यति धेरै समस्या देखिँदैन । वर्षात्को समयमा पानीको खपत बढी भएर फोहोर पानी धेरै निस्कन्छ, त्यसमाथि आकासेपानी थपिँदा समस्या त हुने नै भयो । भरतपुर कारागार रहेको जमिन होचो भएकोले त्यस वरपरको पानी पनि त्यहीँ जम्मा हुन्छ । केही दिनयता भरतपुरमा दिनहुँ वर्षा भैरहेको छ । यसले भरतपुर कारागार परिसर फोहोर पानीको आहालमा परिणत भएको छ । कारागार परिसरमा जमेको फोहोर पानी र दुर्गन्धित हिलोले कारागारका बन्दीहरुमा छाला चिलाउने र झाडापखालाको समस्या बढेको छ । फोहोर पानीमा फैलिएका लामखुट्टेले डेङ्गु, स्वाइनफ्लु, उच्च ज्वरो, इन्सेफ्लाईटिस, मेनिन्जाइटिस, औलोजस्ता रोगहरु सार्ने सम्भावना उत्तिकै छ । यस्ता संक्रामक रोग लागेका व्यक्तिको ज्यान जाने खतरा पनि रहन्छ । सरुवा रोग भएकाले यस्ता रोगको संक्रमण अन्य व्यक्तिमा पनि सर्ने सम्भावना ज्यादा हुन्छ । कारागारभित्र जमेको फोहोर पानी व्यवस्थापन गर्ने पहलै नगरिएको भने होइन । जिल्ला कारागारका अधिकारीहरुले भरतपुर उपमहानगरपालिका कार्यालयसँग सहकार्य गरेर फोहोर पानीलाई शुद्धीकरण गर्ने योजना पनि बनाएकै हुन् । उपमहानगरपालिकाले नरकट लगायतका झार लगाएर फोहोर पानीलाई सफा पार्ने तथा भान्सा र चर्पीबाट निस्केको फोहोरबाट बायोग्याँस निकाल्ने योजना अघि सारेको थियो । आवश्यक बजेट नहँुदा त्यो कार्यक्रम अघि बढ्न सकेको छैन । फोहोरलाई उचित व्यवस्थापन गरेर मोहर आर्जन गरेका धेरै उदाहरणहरु हामीले देखेका छौं । भरतपुर कारागारले पनि अहिले यस्तो अवसर पाएको छ, तर त्यही फोहोरको उचित व्यवस्थापन गर्न सकिएन भने अभिसाप बन्ने खतरा रहन्छ । यस्तोमा भरतपुर कारागारले अन्य दाताहरु जुटाएर भएपनि कारागारको फोहोरको उचित व्यवस्थापन गर्नुपर्दछ । भरतपुर उपमहानगरपालिकालगायतका सरोकारवाला संघसंस्थाले त्यसतर्फ विशेष ध्यान दिनुपर्दछ ।