Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय दुर्घटनाको मुख्य कारण लापरबाही

सम्पादकीय

दुर्घटनाको मुख्य कारण लापरबाही

मध्य नेपालमा एक सातामा भएका दुई ठूला दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक गैँडाकोट–११, हर्कपुरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बा २ क ११३७ नम्बरको उक्त मिनी ट्रक राजमार्ग छेउको रुखमा ठोक्किएर पल्टिँदा १५ जना घाइते भए । यसअघि तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस मध्यनेपाल–५ तामाखानीस्थित तारेभिरबाट खस्दा ११ जनाको मृत्यु भयो । दुर्घटनामा सात जना गम्भीर घाइते भए । गएको आर्थिक बर्षमा नवलपरासी जिल्लामा मात्रै सवारी दुर्घटनाबाट सय जनाभन्दा बढीको ज्यान गएको थियो । यसको अलावा यस क्षेत्रमा हरेक दिनजसो सानातिना दुर्घटना हुने गरेको छ । मध्य क्षेत्रमात्र होइन, पछिल्लो समय मुलुकभरी नै सडक दुर्घटना हुने क्रम बढ्दो छ, तर राज्यले यसको निराकरणको उपाय खोज्न गम्भीरता देखाएको छैन । पछिल्लो समयमा नेपालका विकट पहाडी गाउँहरुमा पनि मोटरबाटो पुगेको छ । ग्रामीण भेगमा यातायातको साधन पुग्नु सकारात्मक कुरा हो, तर त्यहाँ सुरक्षालाई खासै ध्यान दिएको पाइँदैन । नेपालको यातायात व्यवस्थापन सम्बन्धी नीति पनि एकदमै कमजोर र द्विअर्थी खालको छ । जसको कारण राज्यले यातायातको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न र तिनीहरुलाई अप्ठेरो परेको बेला सघाउन सक्दैन । राजश्व बढ्ने नाउँमा सरकारले जति पनि सवारी साधन भित्र्याउन छुट दिइरहेको छ । योग्यता नपुगेकाहरुलाई पनि पद, पैसा र पहुँचको आधारमा लाईसेन्स वितरण गर्ने गरिरहेको छ । भर्खरै ट्रयाक खोलिएका साँघुरा र नाजुक अवस्थाका सडकमा योग्यता नपुगेका चालकहरुले तीब्र गतिमा गाडी हुइँक्याउँदाको परिणाम अकल्पनीय दुर्घटना हुन जान्छ । पुराना र जीर्ण भैसकेका सवारी साधनमा क्षमताको दोब्बर–तेब्बर यात्रुहरु कोच्दा दुर्घटना हुनु स्वाभाविकै हो । हुन त कुनै पनि दुर्घटना कसैले जानीजानी गराउँदैन । यो एउटा दुःखद् संयोगमात्र हो । तर, यहाँका अधिकांश दुर्घटना संयोगभन्दा पनि साँघुरो सडक, पुराना सवारी साधन, चालकको लापरबाही र सुरक्षाप्रति संवेदनशील नबनेको कारण हुने गरेको देखिन्छ । नवलपरासी दुर्घटनाको प्रारम्भिक सूचनाहरुले त्यहाँ चालकको चरम लापरबाही देखिन्छ । यसैगरी लमजुङको तारेभिरमा अभ्यस्त नभैसकेका सहचालकले बस चलाउँदा दुर्घटना भएको देखिएको छ । यस्ता दुर्घटनाले कतिपयको पुरै परिवार क्षतविक्षत भएको उदाहरण पनि छ । र, यस्तो दुःखद् अवस्था जो कोही नेपालीले जुनकुनै बेला पनि व्योहोर्नु पर्ने हुनसक्छ । नेपालीहरुको मुख्य चाडपर्वको बेला सवारी दुर्घटनाको जोखिम झनै बढी हुन्छ । यस्तोमा सरकारले बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न विशेष कदम चाल्न जरुरी हुन्छ ।