सम्पादकीय
गर्मी बढेपछि चितवन र वरपरका क्षेत्रमा उच्चज्वरोका बिरामीहरुको संख्या बढेको छ । यतिखेर चितवन र वरपरका जिल्लाबाट अस्पतालमा जँचाउन आउने बिरामीको संख्या २० देखि २५ प्रतिशत बढेको अस्पतालको रेकर्डले देखाउँछ । यहाँका अधिकांश अस्पतालका शैयाहरु भरिएका छन् । बिरामी राख्ने शैया नभएका कारणले गर्दा कतिपय अस्पतालले बिरामीहरुलाई भुइँमा राखेर उपचार गराउनु परेको अवस्था छ । हरेक बर्ष गर्मी मौसममा चितवन र वरपर उच्चज्वरोले सताउने गर्दछ । अघिल्ला बर्षमा पनि यतिखेर उच्चज्वरो, डेङ्गो, औलो, इन्सेफ्लाईटिस, मेनिन्जाइटिस, स्वाइनफ्लु, कमलपित्तलगायतका बिरामीहरुको चाप बढी हुने गरेको थियो । यसबर्ष उच्चज्वरोका बिरामीहरु ज्यादा भएपनि डेङ्गो अहिलेसम्म नियन्त्रणभित्रै छ ।
यतिखेर चितवनको मौसम लामखुट्टेको लागि अनुकूल छ । यस्तोमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु, स्वाईनफ्लु, औलो, इन्सेफ्लाईटिस, मेनिन्जाइटिसजस्ता रोग फैलिने सम्भावनालाई नकार्न सकिन्न । गत वर्षको तुलनामा यस वर्ष अस्पतालमा भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । अधिकांश बिरामीहरुमा ज्यान दुख्ने, खान मन नलाग्ने, थोरै खाएपनि पेट डम्म हुने, पेट फुल्ने, थकाइ लाग्ने, आलस्य हुने, काम नगरेपनि थकाइ लागि रहने, कमजोर भएजस्तो हुने, निन्द्रा बढी लाग्नेजस्ता लक्षणका बिरामीहरु धेरै छन् । सुरुमा उच्चज्वरोका लक्षण देखिने र लामो अनुसन्धानपछिमात्र रोग खुट्याउन सकिने हुँदा यस्ता रोगले धेरैलाई दुःख दिएको छ । यस्ता संक्रमण देखिएका बिरामीहरुको समयमै उपचार हुन नसके ज्यान पनि जान सक्छ । त्यसैले सामान्य ज्वरो भनेर कसैले पनि घरमै बसेर उपचार गराउने अवस्था अहिले छैन ।
सरसफाई, सावधानी र लामखुट्टेको टोकाईबाट बच्नु नै यस्ता रोगहरुबाट जोगिने प्रमुख उपाय हो । त्यसका लागि लामखुट्टे बस्ने ठाँउहरुमा सरसफाई गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, रोग प्रभावित क्षेत्रमा औषधि छर्केर लामखुट्टे मार्ने र झुल टाँगेर लामखुट्टेको टोकाईबाट बच्नुको अर्को विकल्प छैन । यसैगरी कसैलाई उच्चज्वरो आएमा तुरुन्त स्वास्थ्यचौकीमा जाने, बिरामीको सरसफाईमा ध्यान दिने, झोल पदार्थहरु धेरै खाने गर्नुपर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा, रोग नियन्त्रणको लागि गाउँगाउँमा सरसफाई सम्बन्धी चेतना बिस्तार गर्नु जरुरी छ । ‘रोग लागेर उपचार थाल्नुभन्दा, रोग लाग्नै नदिनु बेश’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न सबै सरोकारवाला संघसंस्था र व्यक्तिहरु चनाखो हुनुपर्दछ । गर्मी मौसम रोग व्याधिले आक्रमण गर्ने मौसम पनि भएकोले रोग नलागोस् भनी सतकर्ता अपनाउनु र रोग लागेमा तुरुन्त अस्पताल गएर उपचार गराउनु नै सबैभन्दा राम्रो उपाय हो ।