Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय हात्ती किन्ने रकम विदेशिन नदेऊ

सम्पादकीय

हात्ती किन्ने रकम विदेशिन नदेऊ

नेपालका पर्यटन व्यवसायीहरुले यदाकदा बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भएपनि सरकारी स्तरबाट १५ वर्ष यता हात्ती भिÊयाउनु परेको छैन । विसं २०४४ सालमा चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन केन्द्र स्थापना भएसँगै नेपालमा हात्तीको सङ्ख्या बढ्दै गएको हो । सरकारी कामको लागि आवश्यक पर्ने हात्ती यहीको प्रजनन् केन्द्रबाट पूरा हुँदै आएको छ । चितवनमा प्रजनन केन्द्र स्थापना गर्दा विभिन्न मुलुकबाट १४ वटा पोथी र छ वटा भाले हात्ती भिÊयाइएको थियो । त्यतिबेला भारतलाई चार वटा एकसिङ्गे गैंँडा दिएर नेपालले १६ वटा हात्ती भारतबाट ल्याएको थियो । प्रजनन् केन्द्रका लागि दुई वटा हात्ती थाइल्याण्ड र दुई वटा म्यानमारबाट ल्याइएको थियो । चितवनमा हात्ती प्रजनन केन्द्र खुल्नुअघि निकुञ्जको गस्तीका लागि २०२८ र २०३४ सालमा रौतहटबाट तथा २०४२ सालमा सर्लाहीबाट त्यहीका जमिन्दारबाट किनेर हात्ती ल्याइएको थियो । तर, अहिले हात्ती प्रजनन केन्द्रलाई तालिम केन्द्रको रूपमा पनि विकास गरिएको छ । हाल चितवन निकुञ्जमा कार्यरत रहेका ५० हात्तीमध्ये यहीँ प्रजनन् केन्द्रमा जन्मिएका २५ वटा हात्ती छन् । निकुञ्जका पोस्टहरूमा रहेका कुनै हात्ती गर्भिणी भएमा त्यसको स्याहारसुसारका लागि केन्द्रमा नै ल्याइन्छ । निकुञ्जका पोथी हात्तीहरुले जङ्गली हात्तीको संसर्गबाट बच्चा जन्माउँदै आएका छन् । निकुञ्ज गस्तीका लागि हात्ती अपरिहार्य छ । वर्षात्को समयमा निकुञ्जको गस्तीको एकमात्र साधन हात्ती हो । वर्षात्सँगै बाटो बिग्रने हुँदा हात्तीको सहयोग लिनुपर्ने हुन्छ । पर्यटक घुमाउन, सरसामान बोक्न, खोलानाला तर्न, मातेका हात्ती र अन्य जनावर नियन्त्रणमा लिन पनि हात्ती प्रयोग गरिन्छ । जङ्गली हात्ती, बाघ, गँैंडाजस्ता जनावर बस्ती पसेर सताउँदा पनि हात्तीकै सहयोग लिने गरिन्छ । सरकारी कामका लागि आवश्यक हात्ती मुलुकभित्रै उत्पादन हुने भएपनि निजी क्षेत्रलाई आवश्यक हात्ती किन्न बर्षेनी ठूलो रकम विदेशिने गरेको छ । पर्यटन व्यवसायीहरुका अनुसार एउटा हात्ती किन्न ८० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुन्छ । पर्यटन व्यवसायीले निजी हात्तीकै सहयोगमा निकुञ्ज घुम्न आउने पर्यटकहरुलाई जंगल घुमाउने गरेका छन् । पर्यटकीय सिजनमा चितवनको सौराहा र वरपरका निजी हात्तीले एकछिन फुर्सदसमेत पाउँदैनन् । पर्यटकीय क्षेत्रको बिस्तारसँगै निकुञ्ज वरपरका अधिकांश होटलहरुले हात्ती पाल्न थालेका छन्, जसले हात्तीको माग बढाइरहेको छ । नेपालका विभिन्न निकुञ्ज र वन्यजन्तु आरक्षहरुमा हात्तीको दरबन्दी रहे पनि हात्ती प्रजनन् केन्द्र भने चितवनमा मात्रै छ । चितवनको एउटै प्रजनन् केन्द्रले मुलुकभरको सरकारी आवश्यकता पूरा गर्न सकेको छ भने अन्य दुई–चार वटा प्रजनन् केन्द्र थप्न सके निजी क्षेत्रलाई आवश्यक पर्ने हात्ती मुलुकभित्रै उपलब्ध हुनेछ । यसले हात्ती किन्नका लागि विदेशिने रकम जोगाउन सकिन्छ ।