सम्पादकीय

सुरक्षित मुलुकमा मात्र रोजगारी

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी १३ जना नेपालीको निधन भएको छ । घटनास्थलमा १२ जनाको ज्यान गएको थियो । सोही घटनाका घाइते एक जनाको बिहीबार उपचारको क्रम मृत्यु भयो । सरकारले उक्त घटनाको निन्दा र भत्र्सना गर्नुका साथै मृतक १२ जनाको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट काठमाडौँ ल्याएर परिवारलाई बुझाइसकेको छ । अस्पतालमा मृत्यु भएका अर्को एक जनाको शव शुक्रबारसम्म नेपाल ल्याउने सरकारले प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले अफगानिस्तानबाट ल्याएको शव सम्बन्धित जिल्लामा नै पु¥याउने व्यवस्था मिलाइएको थियो । तीमध्ये चार जनाको काठमाडौं र बाँकी आठ जनाको शव बुधबारै हेलिकप्टरको माध्यमबाट सम्बन्धित जिल्लामा पु¥याइएको थियो । अफगानिस्तानस्थित क्यानाडेली दूतावासमा सुरक्षाका लागि खटिएका एक सय ४७ जना नेपालीहरु बेलायती कम्पनी साइबरमा कार्यरत थिए । उक्त कम्पनीमा कार्यरत नेपालीहरु क्यानाडेली दूतावासमा खटिएका र क्यानाडेली सुरक्षाकर्मीको बाहिरी घेरामा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । पर्याप्त सुरक्षाबिना काम गर्न बाध्य उनीहरु तालिवान विद्रोहीको आत्मघाती आक्रमणमा परेका थिए । उक्त घटनापछि त्रासको कारण उनीहरुसँग काम गरिरहेका २४ जना नेपालीहरु पनि स्वदेश फर्किए । उनीहरु सबैमा साथी गुमाएको पीडा र त्रासको मानसिकता देखिन्थ्यो । उनीहरुले त्यहाँ रहेका अन्य नेपालीहरु पनि त्रासमा रहेको र नेपाल फर्कन चाहेको बताएका छन् । उनीहरुले अफगानिस्तानमा रहेका सबै नेपालीहरुलाई स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् । घटनाको गाम्भीर्यता बुझेर शव लिन गएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको खबर पाउनासाथ प्रधानमन्त्री स्वयम् विमानस्थल पुगे । विमानस्थलमा जम्मा भएका मृतकका परिवार र आफन्तजनसँगै प्रधानमन्त्रीले श्रद्धाञ्जली व्यक्त गरे । अफगानिस्तानमा नेपालीहरुको सामूहिक हत्या भएको यो पहिलो पटक होइन । यसअघि इराकमा १२ जना नेपालीलाई तालिवान विद्रोहीले हत्या गरेका थिए । सरकारले उक्त घटनापछि संवेदनशील बन्न नसक्दा मुलुकमा हिंसात्मक वातावरण तयार भएको थियो । तालिवान विद्रोहीप्रति क्रुद्ध केही युवाहरुले मुसलमान समुदायप्रति ज्यादतीसमेत गरेका थिए । सोही घटनाबाट पाठ सिकेर शायद सरकारले यसपटक बुद्धिमतापूर्ण निर्णयहरु ग¥यो । घटना भएको ४८ घण्टा नपुग्दै घटनाका मृतक सबै नेपालीको शव सम्बन्धित जिल्लामा पु¥याइसक्नुले सरकारको तत्परता दर्शाउँछ । नेपालीहरुको शव लिन अफगानिस्तान पुगेको नेपाली विमानले त्यहाँबाट शवमात्र ल्याएन, साथीहरुको मृत्युपछि विचलित अवस्थामा रहेका अन्य २४ जना नेपालीहरुको उद्धार ग¥यो । यस घटनामा सरकारले कूशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा ग¥यो । सरकारले अब पर्याप्त सुरक्षाको व्यवस्था नभएको कुनैपनि मुलुकमा कामदार पठाउन रोक लगाउनु पर्दछ । सुरक्षित मुलुकमा मात्र वैदेशिक रोजगारीको लागि कामदार पठाउनु पर्छ ।