सम्पादकीय

नियमित अनुगमन र कारबाही जरुरी

नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने कार्य गर्ने कतिपय म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागसँग अनुमति नलिईकैन शाखा कार्यालय स्थापना गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेर यस्तो गैरकानूनी कार्य गर्ने म्यानपावर कम्पनीका शाखा कार्यालयहरु बन्द गराउन थालेको छ । जिल्ला प्रशासनले यसअघि जिल्लाका एजुकेशन कन्सल्टेन्सीहरुको पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश एजुकेशन ¬कन्सल्टेन्सीहरुले शिक्षा मन्त्रालयबाट इजाजतपत्र नलिएको पाइएको थियो । जिल्ला प्रशासनको अनुगमनपछि चितवनमा त्यस्ता संस्थाहरु बन्द भएका छन् । एजुकेशन कन्सल्टेन्सी र म्यानपावर कम्पनीको नाममा ठगीका घटनाहरु धेरै भए । त्यस्तो ठगी रोक्न जिल्ला प्रशासनले थालेको अनुगमन र कारबाही प्रकृयाको निरन्तरता जरुरी छ । चितवनका मुख्य बजारमा घरै ढाक्ने गरी साइनबोर्ड लगाएर कार्यालय खोलेका कतिपय कन्सल्टेन्सी र म्यानपावर कम्पनीसँग आवश्यक कागजात रहेनछ । चितवन जिल्लामा करिब दुई सय कन्सल्टेन्सीहरुका कार्यालय छन् । तीमध्ये १२ वटामात्र इजाजतप्राप्त रहेछन् । अन्य ४१ वटा कन्सल्टेन्सीले इजाजतपत्रको लागि निवेदन दिएर प्रकृयामा रहेका छन् । २२ वटा अनुमतिप्राप्त कन्सल्टेन्सीका शाखा कार्यालय हुन् । प्रकृयामा गैसकेका कन्सल्टेन्सी र शाखा कार्यालयको हकमा मन्त्रालयकै निर्णय सर्वोपरी हुनेछ । तर, दर्ता प्रकृयासमेत नथालेका कन्सल्टेन्सीहरु बन्द गर्नुको विकल्प देखिएन । म्यानपावर कम्पनीको हकमा पनि यस्तै नियम लागु हुन्छ । चितवन जिल्लामा अहिले दुई दर्जन बढी म्यानपावर कम्पनीले शाखा कार्यालय खोलेका छन् । तीमध्ये एउटाले मात्र शाखा खोल्ने इजाजत लिएको वैदेशिक रोजगार विभागको वेबसाइटमा देखिन्छ । त्यसबाहेक अन्य चार वटा म्यानपावर कम्पनीका सूचीकृत एजेण्ट पनि चितवनमा छन् । तीनले पनि सम्पर्क कार्यालय खोल्न सक्छन् । कुनै पनि म्यानपावर कम्पनीले शाखा खोल्न र एजेण्ट राख्न वैदेशिक रोजगार विभागबाट स्वीकृति लिनु अनिवार्य छ । त्यसबाहेकका म्यानपावर कम्पनीलाई अवैध भन्दा फरक पर्दैन । नियम पूरा नगर्नेलाई बन्द गराउनुको विकल्प छैन । वैदेशिक रोजगारी यतिखेर नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत बनेको छ । मुलुकका ३० लाख युवाहरु वैदेशिक रोजगारीमा छन् । मुलुक राजनैतिक अस्थिरताको अवस्थामा गुज्रिरहेको बेला यहाँका उद्योगधन्दा फस्टाउने र नयाँ खुल्ने सम्भावना निकै कम हुन्छ । उद्योगधन्दाको विकासबिना रोजगारी बढ्ने सम्भावना हुँदैन । यस्तोमा यिनै म्यानपावर कम्पनी र एजुकेशन कन्सल्टेन्सीको माध्यमबाट धेरै युवाहरु विदेश गए । यस हिसाबले मुलुकको आर्थिक उन्नतिको लागि यिनीहरुको योगदान ठूलै छ । तर, कतिपय म्यानपावर कम्पनी र एजुकेशन कन्सल्टेन्सीले सोझासाझा युवाहरुलाई ठगेका घटना पनि धेरै छन् । त्यस्तो ठगी रोक्न, म्यानपावर कम्पनी र एजुकेशन कन्सल्टेन्सीलाई जिम्मेवार बनाउन प्रशासनले नियमित अनुगमन र कारबाही प्रकृया जारी राख्नु पर्दछ ।