Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय बासस्थान र आहारा बढाऊ

सम्पादकीय

बासस्थान र आहारा बढाऊ

पछिल्लो पटक गरिएको गोही गणनामा नेपालमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएको छ । घडियाल गोही लोपोन्मुख अवस्थामा पुगेको उभयचर प्राणी हो । गएको चैत महिनामा गरिएको गणनामा नेपालमा घडियालको सङ्ख्या बढेर एक सय ९८ वटा पुगेको छ । यसअघि सन् २०१३ मा गोहीको सङ्ख्या एक सय २४ रहेको थियो । गणना अनुसार, नेपालका चार वटा नदीमा गोही पाइएको र यसअघिको तुलनामा ६० प्रतिशत वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार, यसवर्ष गरिएको गोही गणनामा नारायणी नदीमा ८४ वटा, राप्तीमा ८२ वटा, बबईमा ३१ वटा र कर्णालीमा एउटा गोही भेटिएको थियो । निरन्तररुपमा घडियाल गोहीको संख्या घट्न थालेपछि सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्ज, कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी यसको संरक्षण थालिएको थियो । उक्त प्रजनन केन्द्रमा हुर्किएका गोहीका बच्चाहरु वर्षेनी नदीमा लगेर छाड्ने गरिएको थियो । हरेक वर्ष विश्व सिमसार दिवस, वन्यजन्तु सप्ताहलगायतका कार्यक्रममा गोहीका बच्चा नदीमा लगेर छाड्ने परम्परा नै बसिसकेको छ । त्यति गर्दापनि यसको संख्यामा खासै बृद्धि हुन सकेको थिएन । प्रजनन् केन्द्रमा हुर्किएका गोहीका बच्चाहरु मुलुकका छ वटा नदीमा छाड्ने गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार अहिलेसम्म राप्ती नदीमा चार सय ७६, नारायणी नदीमा तीन सय ९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा एक सय १० वटा गोही छाडिइसकेका छन् । पछिल्लो गणनामा कालीगण्डकी र सप्तकोसीमा एउटा पनि गोही भेटिएन । जति बच्चा छाडेपनि गोहीको संख्या नबढ्ने भएपछि त्यहाँ गोही छाड्न रोकिएको छ । कसराको प्रजनन केन्द्रमा पाँच सय २५ वटा गोही छन् । पछिल्लो पटक त्यहाँबाट गोही लगेर बर्दियामा पनि गोही प्रजनन केन्द्र स्थापना गरिएको छ । पछिल्लो गणनाले चितवन र बर्दिया निकुञ्जमा मात्रै गोहीको संख्या बढेको छ । संरक्षणमा ध्यान नपुगेको ठाउँमा घडियाल गोहीको संख्या निरन्तर घट्दो छ । एकातर्फ प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दाको चासो घट्दैछ । अर्कोतर्फ, बढ्दै गएको जनघनत्वका कारण घडियाल गोहीका बासस्थान र आहारा कम हुँदैछ । घडियालको मुख्य आहारा भनेकै माछा हो । हरेक नदीमा माछा घट्दा घडियालको संख्या घट्नु स्वाभाविकै हो । यसैगरी नदी प्रदुषित बन्दै जाँदा त्यहाँका जलचरलाई समस्या पर्ने नै भयो । यसअघि विश्वका केही मुलुकबाट घडियाल हराइसकेको छ । नेपालमा यसको संख्या बढ्नु खुसीको कुरा हो । यत्तिकैमा घडियाल गोहीको संरक्षण गरेका छौँ भनेर चुप बस्ने अवस्था छैन । बासस्थान र आहारा बढाउन सकिएन भने घडियाल गोहीको दीगो संरक्षण सम्भव छैन ।