सम्पादकीय
केही वर्षयता सञ्चार क्षेत्रमा अपत्यारिला परिवर्तनहरु भएका छन् । विगतमा कल्पनासम्म नगरिएका कुरा आज जताततै प्रयोग हुन थालेका छन् । नेपालजस्तो गरीब मुलुक जहाँ अधिकांश जनताको हातमा मोबाईल र इन्टरनेट पुगिसकेको छ । एउटा सानो मोबाईल सेटबाट इन्टरनेट चल्न थालेपछि संसारसँग धेरैको पहुँच सहज र सामान्य भयो । यसरी सञ्चारले एकपछि अर्को फड्को मार्दै नेपालजस्तो गरीब राष्ट्रका जनताबीचमा पनि आफ्नो उपस्थिति दह्रो बनाइसकेको छ । नेपाली जनताहरुले पनि सञ्चार र प्रविधिको उपयोगमा आफूलाई अभ्यस्त बनाउँदै लगेका छन् । हुँदाहुँदा अवस्था यस्तो आयो कि सञ्चारबिनाको जीवन कल्पना पनि गर्नै नसकिने भयो ।
संसारका बैज्ञानिकहरुले सञ्चार विकासका लागि अध्ययन र अनुसन्धान थालेको बर्षौं भयो । उनीहरुको मेहनत र लगानीले आज सञ्चारले विश्वमा साम्राज्य फैलाउन सफल भएको छ । बितेको एक दशकमा यसको जति प्रगति भएको छ, त्यसले अघिल्ला उपलब्धिहरुलाई समेत ओझेलमा पारेको छ । नेपालकै परिप्रेक्ष्यमा हेर्दा १० वर्षअघि सञ्चारमा हुलाककै प्रभुत्व थियो । सूचना पाउन पत्रपत्रिकाकै भर पर्नु पर्दथ्यो । सिमित शहरी क्षेत्रमा मात्र टेलिफोन सुविधा थियो । मोबाईलको प्रयोग त सम्भ्रान्त परिवारमा सिमित थियो । र, त्यसलाई विलाशी बस्तु ठानिन्थ्यो । एक दशकको बीचमा सञ्चारको परिभाषा बदलिएको छ । शहर होस् या गाउँ, मोबाईल नबोक्ने कोही छैन भन्दा हुन्छ । दुर्गम भनिएको गाउँमा पनि हरेक घरमा एउटा मोबाईल पक्कै छ । पत्रपत्रिका पुग्न नसकेको ठाउँमा पनि रेडियो, टिभी र इन्टरनेटको माध्यमबाट ताजा सूचना उपलब्ध हुनसक्ने भयो ।
सञ्चारको विकास अत्यन्त द्रुत गतिमा भएपनि यसको गुणस्तर भने गतिलो छैन । हातमा मोबाईल फोन छ, तर सम्पर्क नहुने समस्याले हैरान । अधिकांश नेपालीले प्रयोग गर्ने टेलिकमको मोबाइल हो । टेलिकमको पोष्टपेड होस् या प्रिपेड समस्या उस्तै छ । सिडिएमए झनै समस्याग्रस्त । काम परेर फोन गर्दा अधिकांश समय ‘नेटवर्क ब्यस्त’, ‘सम्पर्क हुन सकेन’ र ‘पुनः प्रयास गर्नुहोला’ भनेर हैरान पार्दछ । मोबाईलमा सम्पर्क भएपनि कुरा नबुझिने र कुरा गर्दागर्दै लाईन काटिने समस्या चर्को छ । नेपालमा निजी संस्थाले पनि मोबाईल सेवा दिएका छन् तर तिनीहरु तुलनात्मक रुपमा महँगो र गुणस्तर पनि उस्तै छ । यसरी हेर्दा टेलिकमले कम शुल्क लिएर उपभोक्तालाई सुविधा दिएको देखिन्छ तर, उसले सेवाको गुणस्तर सुधार्न आवश्यक छ । अहिलेकै अवस्था कायम रहेमा उपभोक्ताहरु टेलिकमकै भर पर्ने छैनन्, जुन नेपाल टेलिकम र नेपाली उपभोक्ता दुबैको हितमा हुनेछैन ।