सम्पादकीय

धनको नाश र जिउको सत्यानाश

चितवन जिल्लामा चालु आर्थिक वर्षको साढे ११ महिनामा ८५ जनामा डेङ्गु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएको साउनदेखि असार दोस्रो सातासम्ममा ८५ जना बिरामीमा डेङ्गु लागेको पाइएको हो । डेङ्गु पाइएपछि कार्यालयले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन लागेको छ । डेङ्गु सङ्क्रमण भएकामध्ये यसपालि एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचार गर्न आएका एक जना बिरामीको गत बैशाखमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अघिल्लो वर्ष चितवनमा एक सय १९ जनामा डेङ्गु लागेको थियो । यसअघि २०६७ सालमा चितवनमा डेङ्गु महामारीको रुपमा फैलिएको र पाँच जनाको मृत्यु भएको थियो । यसवर्ष डेङ्गु सङ्क्रमित भएकामध्ये अधिकांश चितवनका छन् । कार्यालयको तथ्याङ्क अनुसार यसवर्ष चितवनका ५८ जना, नवलपरासीका १२ जनामा डेङ्गु संक्रमण भएको पाइएको छ । यसको अलावा चितवनमा उपचार गर्न आएका पर्सा, मकवानपुर, तनहुँ, दाङ, गोरखाका बिरामीमा पनि सङ्क्रमण देखिएको छ । डेङ्गु सङ्क्रमणका बिरामी बढेपछि चितवनमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा र प्यूपा नष्ट गर्न अभियान थालिएको छ । जमेको सफा पानीमा बस्ने बिशेष खालको लामखुट्टेको टोकाईबाट डेङ्गु रोग सर्दछ । डेङ्गु रोगको कुनै त्यस्तो अचुक औषधि छैन । रोग लागेका बिरामीहरुको समयमै उपचार हुन नसके मृत्यु पनि हुनसक्छ । अहिले नै सामुहिक प्रयास हुन सकेमा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । सरसफाई, सावधानी र लामखुट्टेको टोकाईबाट बच्नु नै यो रोगबाट जोगिने प्रमुख उपाय हो । त्यसका लागि लामखुट्टे बस्ने ठाँउहरुमा सरसफाई गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, रोग प्रभावित क्षेत्रमा औषधि छर्केर लामखुट्टे मार्ने र झुल टाँगेर लामखुट्टेको टोकाईबाट बच्नुको अर्को विकल्प छैन । कहिले घाम र कहिले पानी पर्ने मौसम लामखुट्टेको लागि अनुकूल समय हो । यस्तो मौसममा लामखुट्टे फैलिन्छ र लामखुट्टेले सार्ने डेङ्गु, इन्सेफ्लाईटिस, औलो, उच्च ज्वरोजस्ता रोगको संक्रमण बढ्ने गर्दछ । शहरको तुलनामा ग्रामीण क्षेत्रमा यस्ता रोगहरुको संक्रमण जटिल बन्दै गएको छ । एक त गाउँघरमा रोग पहिचान गर्नमा नै समस्या छ, त्यसबाहेक पनि आर्थिक अभाव र यातायातको समस्याले गर्दा गाउँका मानिसहरु सुविधा सम्पन्न अस्पतालसम्म आइपुग्नै समस्या । रोग खुट्याउन र उपचारमा भएको ढिलाईले पनि कतिपय मानिसले ज्यान गुमाउनु परिरहेको छ । यस्तोमा ग्रामीण क्षेत्रमा रोगको बारेमा जानकारी र सरसफाई सम्बन्धी चेतना दिनु आवश्यक छ । डेङ्गु फैलन नदिन अहिले नै नियन्त्रणको प्रयास गरौं । रोग फैलिएर उपचार थाल्दा धनको नाश र जिउको सत्यानाश हुन्छ ।