सम्पादकीय

सफा र सुन्दर नगर बन्छ

नगर क्षेत्रबाट निस्केको फोहरलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्या नेपालका अधिकांश नगरपालिकाको साझा समस्या हो । विश्वका कतिपय नगरपालिकाले तिनै फोहरलाई व्यवस्थित गरेर मोहर बनाएको कथा पनि हामीले सुनेका छौं । तर, हामी कहाँ नगर क्षेत्रको फोहर टाउको दुखाईको विषय बनेको छ । जथाभावी फोहर थुपार्ने हामी नगरबासी, समयमै फोहर नउठाउने नगरपालिकाका कर्मचारी, फोहर विसर्जन गर्ने डम्पिङसाइटमा राजनीति र फोहरको थुप्रो देखाएर भोट माग्ने यहाँका पार्टीको कारण अधिकांश नगरभित्र फोहर व्यवस्थापनको समस्या बढ्दो छ । आफूले चुनाव जिते सिंगापुरजस्तो शहर बनाउँछु भन्नेले झिंगापुर बनाएर छाडे । फोहरबाट मोहर बनाउँछु भन्नेले डलरले गोजी भरे, नगरबासीलाई दुर्गन्धमा पारे । फोहरको समस्याले देशभरका नगरपालिकाजस्तै भरतपुर उपमहानगरपालिका पनि आक्रान्त छ । उपमहानगरपालिकाभित्र दैनिक ५० टन फोहर निस्कने गरेको छ । त्यसको व्यवस्थापन गर्न नगरपालिकालाई समस्या परिरहेको छ । उपमहानगरपालिकासँग सरसफाई गर्न आवश्यक जनशक्ति, साधन र डम्पिङसाइट छैन । त्यसैले ठेकेदारमार्फत काम गराउनुपर्ने उसको बाध्यता छ । ठेकेदारको ध्याउन्न सरसफाईभन्दा नाफातिर जाने नै भयो । थोरै जनशक्ति र रकम खर्चेर कसरी नगरपालिकाको आँखा छल्ने ? भन्नेमै उसको ध्यान हुन्छ । त्यसमाथि वैकल्पिक साधन नहुँदा ट्याक्टरमा खुला फोहर राखेर हिँड्नुपर्ने उसको बाध्यता छ । यस्तोमा नगरभित्रको फोहर व्यवस्थापनमा समस्या देखिने नै भयो । हामीकहाँ कुहिने, नकुहिने र अस्पतालजन्य फोहर छुट्याएर राख्ने र फरक फरक ढंगले व्यवस्थापन गर्ने व्यवस्था छैन । स्थानीय बासिन्दाको विरोधले भरतपुरमा स्थायी डम्पिङसाइट बनाउन सकिएन । त्यही निहुँमा माडीमा जग्गा किन्दा भ्रष्टाचार भयो भनेर नगरप्रमुखलाई कालोमोसो दलेको धेरै भएको छैन । खुला ढाला भएको ट्याक्टरमा फोहर राखेर दिनभरि शहरमा दौडाउँदा त्यसले जनस्वास्थ्य र वातावरणमा कस्तो असर पार्ला ? हामी सहजै अनुमान गर्न सक्छौं । फोहरमैला रोगको घर हो, यसले शहरमा दुर्गति फैलाउँछ र वातावरण बिगार्छ । सडकमा फोहर थुपार्ने, दिउँसो सरसफाई गर्ने र खुला ढाला भएको ट्याक्टरमा फोहर ओसार्नु हुँदैन । तर अहिलेसम्म भरतपुरमा त्यसको विकल्प पनि त छैन । यस्तोमा भरतपुर उपमहानगरपालिका कार्यालयले फोहरमैलाको उचित व्यवस्थापन गर्न नयाँ प्रविधिको कम्प्याक्टर ल्याउने भएको छ । यसले एकै पटकमा धेरै फोहर उठाउने भएकाले काम छरितो हुन्छ । कम्प्याक्टरले फोहरको पानी निचोर्ने हुँदा फोहरको मात्रा घट्ने, एकैपटकमा धेरै फोहर ओसार्न सक्ने, फोहर नदेखिने र गन्ध पनि आउँदैन । यसको अलावा घरको फोहर घरभित्रै व्यवस्थापन गर्ने र अस्पतालको फोहरलाई छुट्टै व्यवस्थापन गर्ने उपमहानगरपालिकाको योजना छ । अहिलेको योजना सफल भए पक्कै पनि भरतपुर मुलुककै सफा र सुन्दर नगर बन्छ ।