Mon12112017

Last update01:57:25 AM

Back You are here: Home फिचर

फिचर

रेमिट्यान्सले ल्याएको तनाव र खुसी

शालिग्राम नेपाल
धेरै पैसा कमाएर आनन्दले जीवन निर्वाह गर्र्ने सपना बोकेर कतार गएका रौतहट चन्द्रनिगाहपुरका कृष्णबहादुर खड्का अहिले तनावमा छन् । विदेशबाट कमाएर ल्याएको पैसा घर निर्माणमा खर्च गरे । आफूले कमाएको पैसाले नपुगेपछि ऋण लिएर घर बनाए । त्यही ऋण तिर्न नसकेर उनी तनावमा छन् ।
ड्राइभर पेसा गर्दै आएका उनी धेरै कमाउने आशमा विदेश गएका थिए । ड्राइभर पेशाबाटै उनले स्वदेशमा मासिक ५० देखि ६० हजार कमाउँदै आएका थिए । त्योभन्दा धेरै कमाउन सकिन्छ भन्ने साथीहरुको लहैलहैमा लागेर कतार गएका उनले त्यहाँ मासिक ३० देखि ३५ हजार कमाउँथे । ‘नेपालमा भएको जागिर छाडेर आएँ, फर्किउँ कमाई हुँदैन । यही काम गरौं भने थोरै पैसाले घर खर्च कसरी चलाउने ?’ विदेशबाटै उनले भने, ‘आफ्नो कमाइ १० लाख भयो । बाँकी १५ लाख रुपैयाँ ऋण गरेर घर बनाएँ ।’ 
सात वर्ष अगाडि विदेश गएका उनले २५ लाखभन्दा धेरै लगानीमा घर निर्माण गरेका छन् । ‘घरगाउँमा ऋण र बैंकमा ऋण । दुबै ठाउँको ऋणले मलाई साह्रै तनाव दिएको छ’ खड्काले भने, ‘कमाइ राम्रै हुन्छ, दुई वर्ष बसेपछि तलब बढ्छ भनेको थियो तर अहिलेसम्म बढेको छैन । आफ्नो घरमा भएको रकम र कमाएको पैसाले घर बनाउन थालेँ । बनाउँदै जाँदा पुगेन र ऋण गरियो । अहिले त्यही ऋणले थला पारेको छ । ब्याज बढेको बढ्यै छ । बैंकले किस्ता तिर्नको लागि घरमा पत्र पठाएको छ । भनेको समयमा किस्ता तिर्न नसक्दा श्रीमती भागेर हिँड्नु परेको छ । म विदेशमा छु । भनेजति पैसा पठाउन सकेको छैन । यस्तो अवस्थामा कसरी काम गर्ने ? कसरी कमाउने ?’
‘घरमा लगानी गर्नुभन्दा कुनै व्यापार, व्यवसायमा लगानी गरेको भए यस्तो तनाव हुने थिएन’ उनले भने, ‘घर बनाएँ, बास भएको छ तर निद्रा आउँदैन । म विदेशमा पैसा कसरी कमाउने भन्ने चिन्तामा छु । घरमा भएकी श्रीमती साहुलाई कुन बहाना बनाएर ढाँट्ने भन्ने योजनामा हुन्छिन् । सधैं यसरी कति दिन बस्ने ? १० लाख रुपैयाँ लगानी गरेर पसल चलाएको भए आम्दानी बढ्दै जाने थियो, ऋण त लाग्ने थिएन । समयमा कसैले सही सल्लाह नदिएर अहिले समस्यामा परेको छु ।’
एक वर्ष अगाडि घर आएका उनी स्वदेशमा नै काम गरेर बस्ने योजनामा थिए । पुरानै पेशा ड्राइभर गर्दा उनले पहिलाको जति कमाउन सकेनन् । ‘विदेश जानु पहिला कमाएको जति अहिले कमाउन सकिएन, बजार खस्केछ’ उनले भने, ‘स्थायी रुपमा ड्राइभर गर्नको लागि साधन नपाइने । पाए पनि केही दिनको लागि मात्रै काम गर्न पाउने । यस्तो जागिरले राम्रो आम्दानी हुँदैन । यहीँ बसेर काम गरीराखेको भए राम्रो हुनेरहेछ । कमाइ नभएपछि फेरि विदेश आउनु प¥यो । जे जति कमाएको छु, यसमा रमाउनुको अर्को विकल्प छैन ।’
सर्लाहीको हरिऔनका शिव मैनालीको पनि यस्तै समस्या छ । दुबईमा सुरक्षा गार्डको काम गर्दै आएका उनी विदेश गएको १० वर्ष भयो । त्यहाँबाट कमाएको पैसाले उनले दुईतले घर बनाएका छन् । घर खर्च, सन्तानको पढाई, घर निर्माण गर्दाको ऋण यिनै समस्यालाई व्यवस्थापन कसरी गर्ने भन्ने सोचाइमा उनको दिन गएको छ । टेलिफोनमा उनले भने, ‘आफ्नो त तनावमा दिन बितेको छ । शरीर विदेशमा, मन नेपालमा छ । घर खर्च, सन्तानको पढाई, घरको ऋण यी पूरा नगर्दै मरिन्छ कि भन्ने डर पो लाग्न थालेको छ ।’
‘३० लाखमा घर बनाएँ, त्यसको ऋण तिर्न सकेको छैन’ उनले भने, ‘दैनिक लाग्ने घर खर्चको हिसाब छैन । सन्तानको पढाईमा लाग्ने पैसा छुट्टै छ । यस्तो तनाव कसैलाई नपरोस् । भएको काठको घर भत्काएर सौखको लागि पक्की घर बनाएँ । अहिले त्यसैले थिचेको छ । छिमेकीले पक्की घर बनाएका छन् । कति पुरानो घरमा बस्ने भन्ने घरबाट कुरा आएपछि बचत रकम र ऋणले घर बनाएँ । अहिले ढलान गरेको त्यही घरले मलाई उठ्न नसक्ने गरी थिचेको छ ।’
‘घरमा ३० लाख लगाउनुभन्दा सानै भएपनि व्यापारमा लगानी गरेको भए स्वदेश फर्कंदा आफूले काम पाइने, आम्दानी बढ्ने थियो’ उनले सुनाए, ‘विदेश गएको रकम आम्दानी हुने ठाउँमा लगानी गर्नु पर्छ भन्ने राम्रो सल्लाह नपाउँदा सधैं पीडामा बस्नु परेको छ ।’
विदेश गएका अधिकांश युवाहरुको पहिलो खर्च घर बनाउने काममा हुने गरेको छ । केही युवाहरुले भने विदेशबाट फर्केपछि केही आम्दानी हुने व्यवसायमा लगानी गरेका छन् । भरतपुरको गौरीगञ्जका मनोज पौडेल चार वर्ष खाडी मुलुक बसेर आए । उनले आफू र एक जना साथी लिएर भरतपुरमा आल्मुनियमको व्यवसाय गरेका छन् । ‘चार वर्षभन्दा बढी विदेश बसियो, धेरै कमाउन सकिएन । त्यहीँ सधैं रमाउन पनि सकिएन । त्यसैले स्वदेशमा व्यवसाय चलाएका छौं’ पौडेलले भने, ‘विदेशबाट कमाएको रकम र केही ऋण लिएर व्यवसाय चलाएका छौं । आम्दानी भएको छ । लगानी गरेर काम गरेमा आम्दानी हुँदोरहेछ ।’
विदेश गएकाहरुलाई पनि उनी स्वदेशमा नै केही पेशा, व्यवसाय अपनाएर बस्न आग्रह गर्दछन् । ‘सधैं विदेश बस्न सकिँदैन’ पौडेलले भने, ‘थोरै लगानीमा व्यवसाय गरेर मेहनत गर्नु पर्दछ, यहीँ आम्दानी हुन्छ ।’
खाडी मुलुक गएकाहरुको लगानी घर निर्माण र सन्तानको शिक्षामा खर्च हुने गरेको छ । थोरै कमाइले घर बनाउनेमा पहिलो लगानी हुने गरेको गैरआवासीय नेपाली सञ्चार प्रतिनिधि रवि रोशीले बताए । ‘विकसित देश गएकाहरु उतै बैंकमा रकम राख्ने गर्दछन्, खाडी गएकाहरु घर खर्चमा नै रुमल्लिन्छन्’ उनले भने, ‘नेपालीहरुको आर्थिक अवस्था बलियो नभएसम्म यो क्रम चलिरहन्छ । चितवनबाट गएकाहरुको पनि उस्तै अवस्था छ, अधिकांसले घडेरी किन्ने, घर बनाउने, दैनिक खर्च चलाउनेमा नै लगानी भएको छ । अब थोरै भएपनि उत्पादनमुलक काममा लगानी गर्न सके आयआर्जन हुनेछ । यसतर्फ लाग्नु आवश्यक छ ।’
रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगाउँदा बेरोजगारी समस्या झन् वृद्धि हँुदै गएको विज्ञहरुको भनाइ छ । दैनिक विदेशिने युवा एक हजार पाँच सयभन्दा बढी रहेको वैदेशिक रोजगार विभागको तथ्याङकमा छ । विदेश जानेहरुमा खाडी मुलुकमा अत्याधिक र विकसित देशमा थोरै रहेका छन् । स्वदेशमा कामको अभाव र जीवन चलाउन समस्या परेपछि थोरै आय हुने भएपनि विदेशिने युवाको लाम ठुलै छ । शहरी क्षेत्रमा बसेका युवाहरु विकसित देशमा ठुलो पँुजी लगानी गरी जाने गरेका छन् भने ग्रामीण क्षेत्रमा बस्ने युवाहरु सानो पँुजीमा खाडी मुलुकमा जाने गर्दछन् । त्यसरी खाडी मुलुकमा जानेहरु आफ्नो ज्यान जोखिममा पारेर काम गरेका हुन्छन् ।
परिवारबाट टाढा रहेर आर्जन गरेकाहरुको कमाई भने अनुत्पादक काममा लगानी भइरहेको छ । रेमिट्यान्सको प्रयोग उत्पादनमुलक काममा लगानी भए फर्केर आएपछि रोजगारीको बाटो बन्न सक्ने विज्ञहरु बताउँछन् । घर खर्च चलाउन समस्यामा परेकाहरु नै बाहिर जाने भएकाले उत्पादन कार्यमा खर्च हुन नसकेको उनीहरुको भनाइ छ । घरायसी काममा खर्च हुने भएकाले नेपालीहरु उत्पादनमुलक व्यवसायमा लाग्न नसकेको वैदेशिक रोजगार विभागमा लामो समय महानिर्देशकको रुपमा काम गरेका विनोद केसी बताउँछन् ।
‘मन्त्रालयले उत्पादनमुलक काममा लगानी गर्नु पर्दछ भनी कार्यक्रम चलाउँछ, यहाँ घर परिवार चलाउन नै समस्या परेको हुन्छ’ केसीले भने, ‘थोरै पुँजी घरमा आउँछ । त्यो दैनिक काममा खर्च हुन्छ । आफ्नो घरखर्च पु¥याएर बाँकी रहेमा बचत हुन्छ । आर्थिक अवस्था उकासिएपछि लगानी गर्नु पर्दछ । यस विषयमा चेतनामुलक कार्यक्रम चलाएर प्रभाव पार्नु पर्दछ ।’ 
विभागका अनुसार, गएको वर्षमात्रै वैदेशिक रोजगारबाट तीन खर्ब ८० अर्ब रुपैयाँभन्दा धेरै नेपाल भित्रिएको अनुमान छ । यो रकम वैधानिक रुपमा विदेश गएकाहरुको तथ्याङ्कबाट निकालिएको हो । यसबाहेक अवैधानिक रुपमा विदेश जानेहरुको संख्या पनि धेरै रहेको विभागले जनाएको छ । नेपाल आएको रकममध्ये ५६ प्रतिशत घरधुरीमा जाने गर्दछ । बाँकी अन्य विषयमा खर्च हुने गरेको विभागको रिपोर्टमा उल्लेख गरिएको छ । आएको रकम एकमुष्ट रुपमा कोषमा जम्मा नहुने भएकाले उत्पादनमुलक काममा खर्च हुन नसकेको विभागले जनाएको छ ।
विभागका अनुसार, अहिले देशको कुल जनसंख्यामध्ये २५ प्रतिशत विदेशमा छन् । त्यसमा अध्ययनको लागि गएका र श्रमको लागि गएकाहरु पनि समावेश छन् । स्वदेश भित्रिएको अर्बौं रुपैयाँ उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके स्वदेशमै अन्य युवाहरुले काम पाउन सक्ने थिए ।

जीव र जैविक विविधता

शालिग्राम नेपाल
जीवजन्तु बाँच्नको लागि उपयुक्त वातावरण आवश्यक पर्दछ । पृथ्वीका प्राणीका लागि वातावरण सबैभन्दा महत्वपूर्ण विषय हो । वातावरणमा असर आउने बित्तिकै हाम्रो दैनिक जीवनमा समेत त्यसको नकारात्मक प्रभाव पर्दछ । यही धर्तीमा बसेका हामीले गरेको विकास निर्माण तथा विभिन्न गतिविधिले गर्दा हामै्र वातावरणमा असर परिरहेको छ ।
मानव निर्मित वस्तुको कारण हाम्रा भावी पुस्तालाई ठुलो असर पर्ने देखिएको छ । त्यसको लागि अहिलेदेखि नै चिन्ता राखेर काम गर्नु पर्ने हुन्छ । आफू र आगामी पुस्ताको लागि उपयुक्त वातावरण छाडेर हामी बिदा भएनौँ भने त्यो सच्चा मानव होइन भन्ने वातावरणविज्ञहरुको भनाई छ ।
मानिसले गरेको प्रगति तथा केही त्यस्ता बानी र व्यवहारले वातावरण एवं जैविक विविधतालाई समेत असर परेको र त्यसले विभिन्न समस्याहरु देखा पर्न थालेको भन्दै चिन्ता गरेको पाइन्छ । जैविक विविधता, वन, वन्यजन्तु तथा वातावरणको संरक्षण अत्यन्तै आवश्यक भएको बहस चर्को रुपमा चलेको छ ।
अन्य देशहरुको तुलनामा नेपाल जैविक विविधताले धनी मानिन्छ । तर यही देशमा अहिले बिस्तारै जैविक विविधता नास हुँदै गएको, वन र वन्यजन्तु मासिन थालेको र त्यसले गर्दा जलवायु परिवर्तनमा समस्या परेको यसै क्षेत्रमा काम गर्नेहरुको बुझाई छ । संरक्षणकर्मीहरुले नेपालका धेरै स्थानमा वन र वन्यजन्तु मासिँदै गएको बताएका छन् । ती व्यवहारले गर्दा अहिले जलवायु परिवर्तनमा असर परेको उनीहरुको भनाई छ ।
‘चितवनदेखि अन्नपूर्ण क्षेत्र सबैभन्दा महत्वपूर्ण भएपनि यहाँ जैविक विविधता नासिन थालेका छन्’ काठमाडौं फरेष्ट्री कलेजका प्राध्यापक तथा वन विशेषज्ञ अरुण पौडेलले भने, ‘चितवनदेखि अन्नपूर्ण हिमालसम्मको क्षेत्र जैविक विविधताको हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ ।’
चितवन राष्ट्रिय निकुञ्ज, कालीगण्डकी, त्रिशुली, देवघाट, गोरखा, तनहँु, लमजुङ, कास्की लगायतका जिल्लामा भएका वन, वन्यजन्तु र यहाँ पाइने जैविक विविधता ज्यादै महत्वपूर्ण रहेको पौडेलले बताए । यही क्षेत्रमा पाइने वन्यजन्तु विश्वमा नै दुर्लभ छन् । 
एकसिंगे गैडा, पाटेबाघ, हिमाली क्षेत्रका जलाधार क्षेत्र, धार्मिक मठमन्दिर, पानीको भण्डार, हिमाल लगायत सबैभन्दा महत्वपूर्ण पर्यावरण यही क्षेत्रमा छन् । पछिल्ला केही वर्षदेखि यही क्षेत्रमा समस्या देखिन थालेको विज्ञ पौडेलले बताए ।
चितवन र अन्नपूर्ण क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै विभागले संरक्षणका लागि अध्ययन थालेको उनले जानकारी दिए । यसै क्षेत्रको सबैभन्दा ठूलो समस्या खोरिया फँडानी, वनस्पति काट्ने, आगो लगाउनेजस्ता काम भइराखेको उनले बताए । मानव सिर्जित गतिविधिका कारण जैविक विविधतामा असर परेपछि वन विभागले चितवन र अन्नपूर्ण क्षेत्रको संरक्षणका लागि योजना निर्माण गरेको पौडेलले बताए ।
‘यही क्षेत्रको साना साना जलाधारहरु सुक्न थालेका छन् । डढेलोले वन नासिँदै गएको छ’ उनले भने, ‘यहाँ वातावरणमा असर पार्ने गतिविधि भएपछि वन विभागले संरक्षणका लागि योजना निर्माण गरेको छ ।’ खेतीयोग्य स्थानमा खेती, घर तथा भौतिक संरचना निर्माण गर्ने स्थानमा भवन र वन्यजन्तु रहने स्थानमा त्यसैलाई प्राथमिकता दिँदै अगाडि बढ्ने तरिकाले काम भइराखेको उनले बताए ।
मुख्य नदीमा मिसिने जलाधारहरु सुक्न थालेको, बाढीपहिरो आउन थालेको, भूक्षयजस्ता गतिविधि हुन थालेकोजस्ता गतिविधि भएपछि विभागको ध्यानाकर्षण भएको उनले जानकारी दिए । वातावरणको विषयमा ध्यान नदिएर मानवले आफू अनुकूलमात्र भौतिक संरचना निर्माण गर्ने, मानवको बसोबास गर्ने उपयुक्त स्थानको पहिचान नगर्नेजस्ता कारणले पनि असर पर्न थालेको उनको भनाई छ ।
वन्यजन्तुको संरक्षण र चोरीशिकारलाई घटाउन वंशाणु गुण पत्ता लागाउने प्रविधि नेपालले ल्याउने तयारी गरेको उनले बताए । दुर्लभ रुपमा रहेको गैंडा, पाटेबाटको चोरीशिकार हुने गरेको र यी जनावर दुर्लभ रुपमा रहेकाले वंशाणु गुण पत्ता लगाउने प्रविधि प्रयोगमा ल्याउन सकेमा चोरीशिकार न्यूनीकरण हुने पौडेलले बताए ।
वंशाणु गुण पत्ता लगाउने प्रविधि ल्याउने विषयमा विभागले काम थालेको संरक्षणकर्मी  कमलजंग कुँवरले बताए । ‘प्रविधि ल्याउने तयारी भएको छ तर कहिलेदेखि प्रयोगमा ल्याउने हो, त्यो विभागले निर्धारण गर्दछ’ उनले भने, ‘मुख्यगरी पाटेबाघ र गैंडाको संरक्षणमा चुनौती छ । वंशाणु गुण पत्ता लगाएमा कुन स्थानको जनावर हो भन्ने पत्ता लाग्ने गर्दछ । त्यसले गर्दा चोरीशिकार न्यूनीकरणमा सहयोग मिल्नेछ ।’
वंशाणु गुण पत्ता लगाउने प्रविधि छिमेकी राष्ट्र भारतले प्रयोगमा ल्याएको छ । चोरीशिकारका विषयमा बरामद सामग्री परीक्षण गर्नु परेमा वंशाणु गुण पत्ता लगाउन नेपालबाट भारतको देहरादुनमा लैजाने गरेको  वातावरणविज्ञ पौडेलले जानकारी दिए । उनका अनुसार, भारतमा ५ वर्ष अगाडिबाट यसलाई प्रयोगमा ल्याइएको छ । नेपालमा भने यसको प्रयोग हुन सकेको छैन ।
वन र वन्यजन्तु संरक्षण अत्यन्तै आवश्यक रहेको अर्का संरक्षणकर्मी रामप्रित यादवले बताए । नेपालको वन विगतको तुलनामा मासिँदै गएको भन्दै संरक्षण गर्ने काम थाल्न ढिलाई गरे भोलि ठूलो समस्या आउने उनले बताए । नेपालमा अहिले ३९ प्रतिशत वन क्षेत्र रहेको भन्दै यसमा पनि वास्तविक वन २९ प्रतिशतमात्र भएको उनले बताए ।
हरेक वर्ष वन मासिँदै जाँदा त्यसको असर जलवायु परिवर्तनमा पर्ने गरेको संरक्षणकर्मी यादवले बताए । नेपालको वनमा २९ प्रतिशत राम्रो वन, १० प्रतिशत बुट्यानमात्र भएकाले वनको क्षेत्र वृद्धि गर्नु पर्ने उनको सुझाव छ । नेपालभन्दा सानो मुलुक भुटानमा ६२ प्रतिशत वन भएपनि यहाँ विभिन्न भौतिक संरचना निर्माणको कारणले वन क्षेत्र मासिने गरेको उनले बताए ।
अब राजनीतिक दल, नागरिक समाज, संरक्षणकर्मी, विद्यार्थी सबैले वन र वन्यजन्तुका विषयमा आफ्नो एजेण्डा तय गर्नु पर्ने उनको भनाई छ । मानिसको चाप र बानी व्यवहारबाटै लोपोन्मुख रुपमा रहेको घडियाल गोहीको संरक्षण गर्नु अर्को जटिल विषय भएको घडियाल गोही संरक्षणमा लागेका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेलबहादुर खड्काले बताए ।
‘गैंडा, बाघ जत्तिकै संरक्षणको लागि घडियाल गोहीलाई पनि ध्यान दिनु पर्दछ’ उनले भने, ‘यो गोही नेपाल र भारतमा मात्र पाइने गरेको छ ।’ गोही बस्ने खोला र नदीमा माछा मारेर खाने, तियारी जाल थाप्ने, पानी फोहोर बनाउने लगायतका गतिविधिले गर्दा घडियाल संरक्षणमा समस्या परेको उनको भनाई छ ।
वन, वनस्पति, वन्यजन्तु लगायतको संरक्षण आवश्यक भएको विज्ञहरुले बताएका छन् । वातावरण संरक्षणका लागि अहिले विश्वमा ठुलो बहस चल्ने गरेको छ । जैविक विविधताले धनी मानिएको नेपालमा अहिलेदेखि नै ती सम्पदाको संरक्षण गर्न नसके भोलि ठुलो जोखिम सहनु पर्ने बाध्यता रहन्छ । चितवन निकुञ्ज, यस क्षेत्रका सामुदायिक वन, मध्यवर्ती क्षेत्र, धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र लगायतले जैविक विविधता जोगाई राखेका छन् ।
चितवन निकुञ्जमा नभएको अर्ना र बाह्रसिंगे ल्याएर यसमा अझ विविधता थप्ने काम भएको छ । ‘हामी संरक्षणकर्मी जैविक विविधताको विषयमा धेरै चिन्तित छौं’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, ‘देशकै मध्यभागमा रहेको यातायातको पहुँचमा रहेकाले पनि यहाँको विषयमा जानकारी लिन खोज्ने र अवलोकन गर्न खोज्नेको संख्या हरेक वर्ष वृद्धि भएको छ ।’

सहारा वृद्धाश्रम

शालिग्राम नेपाल
‘बुबा आमालाई पाल्ने र भाइ बहिनीलाई हुर्काउने गर्दैमा जीवन गयो । आफ्नो लागि केही गर्न सकिएन । सबैको प्रगति, उन्नति भएको छ । मेरो आफ्नो भन्नु कोही भएन’ देवघाटको वृद्धाश्रममा नौ वर्षदेखि बस्दै आएका ८५ वर्षीय मोतीलाल जोशीले आफ्नो गुनासो पोखे ।
जीवनको उतराद्र्धमा आएर देवघाटको वृद्धाश्रमलाई अन्तिम स्थान बनाएकामध्ये गोरखा बुङ्कोट वडा नम्बर तीनमा जन्मिएका जोशीको जीवनमा धेरै उतारचढाव आएको छ । आफ्नो लागि भन्दा परिवारको लागि धेरै गर्नु पर्छ भन्ने सोचाई राखेका उनले सेवामा सारा जीवन बिताए । परिवारका सदस्य सबैभन्दा महत्वपूर्ण हुन्छन् भन्दै जीवनका उर्जाशील समय बिताएका उनी अहिले वृद्धाश्रममा आएर बसेका छन् ।
पाँच दाजुभाइ र एक बहिनीमध्ये दोस्रो सन्तानका रुपमा जन्मिएका उनले आमा, बुबा र भाइबहिनीको लालनपालनको जिम्मा लिए । गाउँ घरमा ज्यालाबनी गर्दै परिवारको खानपिनको जोहो गर्दै आएका उनले ३५ वर्षको उमेरमा विवाह गरे । ‘मेरा दाजु, भाइ, बहिनी सबैको विवाह भएपछि मेरो विवाह भएको थियो’ जोशीले भने, ‘आमा, बुबाको स्वास्थ्य अवस्था कमजोर थियो । भाइ, बहिनीको लालनपालन गर्दैमा उमेर गएछ ।’ 
सबैको घरजम भएपछि विवाह गरेपनि उनको जीवनमा भने खुसीयाली आउन सकेन । हरेक सुख दुःखमा साथ दिने उनकी जीवन संगीनीले विवाह भएको पाँच वर्ष नपुग्दै संसार छाडेर गइन् । खाना पकाएर सबैलाई खुवाएर बसेकी उनी एक्कासी पिँढीमा लडेर मरेको जोशीले बताए ।
‘आफ्नो भन्नु उनी नै थिइन्, आँखै अगाडि मेरर गएपछि मलाई साह्रै विरक्त लाग्यो’ उनले भने, ‘चालीस वर्षको उमेरमा उनले छाडेर गएपछि अर्को विवाह गर्ने विचार आएन । दाजु, भाइ, बहिनी सबैको घरबार भयो । म एक्लै भएँ, अनि आफ्नो जीवन पाल्न अरुको काम गर्दै हिँड्न थालेँ ।’
‘आफ्नो भन्नु सम्पत्ति केही नभएपछि भारी बोक्ने, घाँस काट्ने, दाउरा बोक्ने गरेर दिन कटाएँ’ उनले भने, ‘दाजुभाइको प्रगतिको लागि मैले धेरै गरेँ । सबैको उन्नति भयो । मेरो यो अवस्थामा कसैले हेरेनन् ।’ आफूलाई आफन्तले वास्ता नगरेपनि उनलाई गुनासो छैन । बुबाआमाको हेरविचार गरेर सद्गति गराएकोमा सुखी छन् ।
‘सबैको उन्नति भएको छ । मलाई त्यसैमा खुसी छ’ जोशीले भने, ‘एउटी बहिनी जुटपानीमा छिन् । कहिलेकाहीँ भेट्न आउँछिन् । त्यसैमा खुसी छु । अरुको घाँसदाउरा गर्दागर्दै पचहत्तर वर्ष काटिएछ । एउटा चिनजान भएका व्यक्तिले हामीजस्तो कोही नभएकाहरु बस्ने ठाउँ देवघाटमा छ भन्ने सुनेपछि आएको हो । हामीजस्ता कोही नभएकालाई राख्ने ठाउँ बनाएको रहेछ, खुसी छु ।’
‘अब मलाई केही गुनासो छैन’ जोशीले भने, ‘भजन भन्दाभन्दै संसार छाड्न पाए आनन्द आउँथ्यो । बाँचुन्जेल यो तेरो यो मेरो भनेपनि आखिर यही देवघाटमा आउनु पर्छ । धन सम्पत्तिले के गर्छ ? मलाई अब केही पीर छैन ।’
आफन्तहरु नभएका र भएर पनि संगै बस्ने वातावरण नभएका वृद्ध नागरिक देवघाटको वृद्धाश्रममा आएर बसेका छन् । आफ्नो धन सम्पत्ति भएर पनि बुढेसकालमा काम नलागेको र सम्पत्ति उपयोग गर्नबाट वन्चित पारेपछि उनीहरुको सहारा वृद्धाश्रम बन्ने गरेको छ ।
आश्रममा आएकामध्ये संन्यासी जीवन अपनाएकी ८० वर्षीया निर्मला गिरीलाई आफ्नो सम्पत्ति उपयोग गर्नबाट आफन्तले नै बन्चित बनाएपछि उनको सहारा वृद्धाश्रम बनेको छ । दाङ, देउखुरी घर भएकी उनको नौ वर्षको उमेरमा विवाह भयो । दुई वटी छोरी र एउटा छोरालाई जन्म दिएकी उनी २७ वर्षको उमेर हुँदा बिधुवा भइन् । श्रीमान नभएपनि सन्तानले बुढेसकालमा हेर्लान् भन्दै आशा गरी शिक्षादिक्षा दिएर हुर्काएको सन्तानबाट सुःख पाउन सकिनन् । 
‘छोराछोरीको विवाह गरेर घरजम भएपछि आफूले सुःख पाइन्छ भन्ने लागेको थियो, सबै सपना रहेछ’ गिरीले भनिन्, ‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भनेको यही हो । आफ्नो बल र पहुँच हुँदैमा गुल्मीको रिडीमा चारकोठे धर्मशाला बनाएँ । त्यहाँ अहिले विद्यार्थी बस्दै आएका छन् । जन्मेपछि धर्मकर्म गर्नु पर्छ, पछि सुख पाइन्छ भनेर छोरा हँुदैमा धर्मशाला बनाएँ । अहिले आएर आफै धर्मशालामा आएर बस्नु परेको छ ।’
‘छोराको विवाह भएपछि बुहारीले छुट्टिएर बसौँ भन्दै मसंग बस्न मानिनन् । छोराको करले बसेँ । उनी पनि जिब्रोको क्यान्सर भएर बिते । छोरा नभएपछि म त्यहाँ बस्न सकिन’ आफ्नो व्यथा सुनाउँदै उनले भनिन्, ‘आफैले बनाएको धर्मशालामा केही वर्ष बसेँ । नातिहरुले म मरेपछि किरिया नबस्ने भन्दै पार्टीमा लागे । आमा, बुबा, हजुरआमा मर्दा पनि किरिया बस्न नहुने कस्तो पार्टी रहेछ ।’
‘नातिहरु पार्टीमा लागेपछि त म त्यहाँ बस्न नसक्ने भएँ’ गिरीले भनिन्, ‘वचनको वाण सहन साह्रै गाह्रो हुँदोरहेछ । घामपानी नभनी सारा दुःख सहेर हुर्काएको सन्तानले सहन नसकेपछि कहाँ जाने ? घरभरी सन्तान, गाउँभरी आफन्त, कागजमा सम्पत्ति भएर आफूले सुख पाइँदो रहेनछ ।’
‘सबैलाई बुढेसकाल लाग्छ । सधैँ बल, बैंस हँुदैन भन्ने बुझ्दैनन् । त्यही भएर यो अवस्थामा ल्याउने गर्दछन्’ उनले भनिन्, ‘आफ्ना सन्तानका वरपर बस्न र उनीहरुको सुखमा रमाउन हामीलाई पनि मन थियो तर भाग्यले यहीँ बस्न लेखेको रहेछ, आइयो ।’
१५ वर्ष रिडीमा बसेर देवघाटको वृद्धाश्रममा आएकी उनी यहीँ रमाएकी छिन् । छोरा, बुहारीले बस्न नदिएपछि छोरीको सहारा लिन मानिनन् । ‘छोरीको घर गएर बस्न हँुदैन, पाप लाग्छ । धर्मकर्मको पनि ख्याल राख्नु पर्दछ’ उनले भनिन्, ‘छोरीले अहिलेपनि हामीसंगै बसौं भनेकी छिन् । त्यहाँ बस्दा आइपर्ने असजिलो झल्झली आँखामा आउँछ । त्यही भएर यहाँ बसेकी छु ।’
‘छोरीको मानो खाएर बस्नुभन्दा सरकारको मानो खान आनन्द आउँछ’ आफ्नो तर्क राख्दै उनले भनिन्, ‘आफ्ना आमा, बुबालाई बोझ सम्झने सन्तानहरुलाई पनि वृद्धाश्रममा कहिल्यै आउन नपरोस् । हामीले त यो अवस्था भोग्यौं, तिनीहरुले भोग्न नपरोस् ।’
तनहुँको देवघाटस्थित वृद्धाश्रम, रोटरी करुणालय लगायतमा गरी दुई सय जना वृद्धवृद्धा आश्रममा बस्दै आएका छन् । आफन्त नभएका र भएर पनि घरपरिवारमा बस्न नसकेकाहरु आश्रममा बस्ने गरेका छन् । विभिन्न कारणले यहाँ आइपुगेकाहरुको खानपिनको व्यवस्था विभिन्न सहयोगी संस्थाहरुबाट हँुदै आएको आश्रमका सहयोगीहरुले बताएका छन् । जन्मदिनको दिन, कुनै पर्व, विवाह उत्सव लगायतका पर्वहरुमा आश्रमका बुबा, आमालाई खुवाउन चाहनेहरुको सहयोग, आफ्ना आमा, बुबाको तिथीमा खुवाउनेहरुको सहयोगबाट आश्रम चलेको छ ।
देवघाटमा विभिन्न समयमा लाग्ने मेला उत्सव तथा पर्वमा पनि वृद्धवृद्धाहरु आउने क्रम रहेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शैलेन्द्र पियाले बताए । अहिले देवघाटमा चलेको करोड बत्ती बाल्ने कार्यक्रमको अवसर पारेर आफ्ना सन्तानले आमाबुबालाई यहीँ ल्याएर छाड्ने गरेको र यसले गर्दा नयाँ सामाजिक समस्या सिर्जना भएको सामाजिक अभियन्ताहरुले बताएका छन् ।

सुरक्षाको लागि डिजिटल प्रविधि

शालिग्राम नेपाल
सुरक्षाको लागि मानव शक्तिको प्रयोग नयाँ होइन । तर मानव शक्तिको मात्र भर पर्ने अवस्था भने छैन । त्यसैले अहिले मानवसंगै डिजिटल प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको छ ।
हरेक काममा सुरक्षाको खाँचो पहिलो आवश्यकता हो । यही आवश्यकतालाई मध्यनजर गरेर अहिले डिजिटल प्रविधिमा सुक्ष्म तरिकाले नियाल्ने सीसीक्यामराको प्रयोग बढेर गएको छ । यस प्रविधिको प्रयोग केही वर्ष अगाडि विदेशमा मात्र हुने गरेकोमा अहिले नेपालमा सामान्यजस्तै बनेको छ । सुरक्षा निकायदेखि व्यापारी, व्यवसायी तथा निजी घरहरु सबैमा सीसीक्यामरा लगाउनेहरु वृद्धि भएका छन् ।
सुरक्षा नियकालाई घटनाको सत्यता नजिक पुग्नको लागि यस माध्यमको उपयोग उपयुक्त हुन्छ । त्योमात्र नभई व्यापार, व्यवसाय गर्नेहरुलाई आफ्नो सामानको सुरक्षा र चोरहरुको नियन्त्रण गर्नको लागि पनि सहयोगी हुन्छ । जिल्लास्थित सरकारी कार्यालय तथा व्यवसायीहरुले यसको प्रयोग धेरै गर्न थालेका छन् ।
‘सीसीक्यामराले गर्दा धेरै सामानको सुरक्षा भएको छ’ नारायणगढका घडी व्यवसायी प्रभात सापकोटाले भने, ‘घडी हेर्दाहेर्दै झोलामा राखेको पत्तै पाइन, शंकाले सीसीटिभी हेरेको पत्ता लागिहाल्यो । त्यसैले अहिले त सीसीक्यामरा आवश्यकता भैसकेको छ ।’
कपडा व्यवसायी प्रेम रेग्मीले भने ‘एउटा ग्राहकले भीडभाडमा सामान किनेर पैसा दिइसकेँ भन्दै ढाँटेको थियो । सीसीटिभीमा हेर्दा पैसा दिएको देखिएन । त्यसपछि उसले चुप लागेर पैसा ति¥यो ।’ ‘बैंकमा पैसा झिक्न आएका व्यक्तिलाई झुक्किएर कर्मचारीले धेरै रकम दिएको रहेछ, सीसीक्यामराको माध्यमबाट पत्ता लाग्यो’ प्रहरी कार्यालयका एक अधिकृतले भने ‘सीसीक्यामराले घटनालाई जस्ताकोतस्तै देखाउन मद्दत गर्दछ ।’
सीसीक्यामरा यस्तो उपकरण हो, जसले आफ्नो अगाडिका सबै दृश्य खिचेर केबलको माधयमबाट सीसीटिभीमा देखाइदिन्छ । उक्त दृश्य कम्प्युटरको हार्डडिक्समा पनि स्टोर हुने हुँदा आवश्यक परेको समयमा टिभीमा पुनः हेर्न सकिन्छ । यसको प्रयोगबाट व्यवसायी हुन या अनुसन्धानको क्षेत्रमा काम गर्ने सबैले फाइदा लिएका छन् ।
बैंक तथा वित्तीय संस्थाको लागि त सीसीक्यामराको प्रयोग अनिवार्य हुन थालेको  छ । सुरक्षा निकाय होस् या व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय वा निजी संस्था त्यस्तै कम्पनी सबैमा यसको प्रयोग बढेको छ । चितवनको मुख्य बजार नारायणगढमा पनि यसको प्रयोग गर्ने व्यापारीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । कपडा पसल, फेन्सी, किराना पसल, होटल, हार्डवेयर पसल, सिनेमा हल जताततै सीसीक्यामरा राख्ने गरिएको छ । यसको प्रयोगले कर्मचारीको कामको मूल्याङ्कन गर्न सहज हुने, चोरी, छली र लापरवाही नियन्त्रण गर्न सकिने, धनमालको सुरक्षा गर्न सहयोग पुग्ने प्रयोगकर्ताहरुको भनाई छ ।
‘व्यापार व्यवसाय गर्नको लागि पहिलाभन्दा अहिले धेरै सहज भएको छ’ नारायणगगढका चश्मा व्यवसायी रामशरण अर्यालले भने, ‘पसलमा सीसीक्यामरा राखेपछि धेरै फाइदा पुगेको छ । सामानको पैसा दिएको भन्दै एउटा ग्राहकले ढाँटेको थियो, पछि सीसीटिभीमा हेर्दा नदिएको पत्ता लाग्यो । डुब्न लागेको रुपैयाँ बच्यो ।’
उनले केही महिना अगाडि सीसीक्यामरा जडान गरेका थिए ।  कति सामग्री बिक्री भएको छ ? लुकाएर ग्राहकले लगेको छ कि छैन ? पैसा दिए, नदिएको सबै थाहा हुने गरेको उनले सुनाए । यसबाट चोरी, छली र लुटपाट गर्नेलाई कारबाही गर्न सहज हुने उनको भनाई छ ।  
सीसीक्यामराको मद्दतले पसलमा सामग्री ल्याउँदा, लैजाँदा, आफ्नै कर्मचारी सबैको गतिविधि थाहा पाउन सकिन्छ । यसले गर्दा व्यापार अझ व्यवस्थित भएको छ । क्यामराको सक्दो उपयोग गर्न सके धेरै फाइदा लिन सकिने उनको अनुभव छ । आफ्ना छिमेकी व्यवसायीहरुले पनि सीसीक्यामरा राखेर व्यवसाय गर्ने गरेको उनले जानकारी दिए । कोहीले फेसनको रुपमा र अधिकांशले आफ्नो व्यवसायमा भएका कमी, कमजोरी पत्ता लगाउन क्यामरा राख्ने गरेको उनको अनुभव छ ।
व्यवसायीमात्र नभई यसको प्रयोग सुरक्षा निकायले पनि गरेको पाइन्छ । ‘अनुसन्धानको लागि सीसीक्यामरा अत्यन्तै उपयोगी भएको छ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, ‘यो एउटा अत्यन्तै महत्वपूर्ण सामग्री हो । यसको बेफाइदा केही छैन । सबै फाइदैफाइदा छ । लुटपाट तथा दुर्घटनाका विषयमा सीसीक्यामराको सहयोग अत्यन्तै उपयोगी छ ।’
प्रहरीको लागि त यो सामग्री वरदान सावित भएको छ । सडकमा हुने दुर्घटना, ठक्कर खाँदा भएको गल्ती पत्ता लगाउन, ट्राफिक व्यवस्थापन गर्न सबैको लागि यसले सघाएको प्रहरी उपरीक्षक थापाले बताए । कतिपय सवारी साधन दुर्घटना गराएर भाग्न सक्छन् त्यस्ताको एकिन गर्न र नियन्त्रणमा लिन यसले सघाउँछ । पूर्व पश्चिम राजमार्गमा हुने दुर्घटना तथा अपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि भन्दै भरतपुर नारायणगढ क्षेत्रका सडकमा समेत सीसीक्यामरा राखिएको छ । विभिन्न स्थानमा राखिएको क्यामराबाट घटनाको अध्ययन गर्न निकै प्रभावकारी भएको प्रहरीको भनाई छ ।
सडकमा हुने सबै गतिविधि क्यामराले कैद गर्दा ट्राफिक व्यवस्थापनसंगै अन्य घटना थाहा पाउन सजिलो भएको उनले बताए । सडकमा मात्र नभएर जिल्ला प्रहरी कार्यालयमा पनि सीसीक्यामराको प्रयोग भएको छ । ‘यसबाट प्रहरी कार्यालयभित्रको गतिविधि निगरानी राख्न सजिलो भएको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘कार्यालयभित्र एक दर्जनभन्दा धेरै क्यामरा जडान गरिएको छ ।’
अझ यसको धेरै उपयोग बैंकिङ क्षेत्रमा छ । सीसीक्यामरा जडान नगरे नेपाल राष्ट्र बैंकले कुनै पनि बैकिङ कार्यालय सञ्चालन गर्ने अनुमति नै दिँदैन । ‘पैसाको कारोबार हुने भएकाले बैंकको गतिविधि निगरानी राख्नु अत्यन्तै आवश्यक छ’ जनता बैंक नारायणगढका अधिकृत लक्ष्मण पौडेलले भने, ‘यसले चोर, लुटेरा र अपराधी पहिचान गर्न सजिलो भएको छ ।’
यसको प्रयोगबाट बैंकमा रकम राख्न ल्याउने र बैंकबाट रकम झिकेर लैजाने ग्राहक लुटिने जोखिम कम भएको छ । यसैगरी यसको प्रयोगले बैंकिङ कारोबार गर्दा भएको गल्ती पत्ता लगाउन पनि सजिलो भएको छ । खासगरी चेकमा उल्लेख भए अनुसारको पैसा दिनु पर्नेमा झुक्किएर बढी वा घटी रकम दिने घटना भइरहन्छ । यस्तै ग्राहकले रकम जम्मा गर्दा हुने गल्ती पनि यसैको माध्यमबाट सच्याउन सकिन्छ । यस्तोमा सीसीक्यामराबिना आधुनिक बैंकिङ प्रणाली सम्भव नहुने उनको भनाई छ । 
सुरक्षाको क्षेत्रमा आएको डिजिटल प्रणालीले जनशक्तिको प्रयोग घटाएको छ भने विश्वसनियता वृद्धि गरेको छ । सीसीक्यामराको प्रयोग अहिले सानातिना संघसंस्था, कार्यालय, व्यक्तिको घरमा समेत हुन थालेको छ । केही वर्ष अगाडि निकै महंगो पर्ने सीसीक्यामरा यतिखेर न्यून मूल्यमा पाइन्छ । बजारमा यतिखेर २५ हजार रकम तिरेर चार वटा क्यामरासहितको सीसीटिभी जडान गर्न सकिन्छ । क्यामराको गुणस्तर, साइज, स्टोर गर्ने क्षमता, केबलको गुणस्तर र परिमाणले रकम घटीबढी हुने व्यवसासीहरुले बताएका छन् ।

व्यवसाय सानो आम्दानी आकर्षक

शालिग्राम नेपाल
“लाज नमानी पसिना बगाउन सके मजाले पैसा कमाउन सकिन्छ, यही ठेला डुलाएर मैले कमाएको छु” मकै बेच्दै आएकी सानु श्रेष्ठले भनिन् ।
नारायणगढ बजारको सडकपेटीमा ठेला गुडाएर मकै पोलेर बेच्दै आएकी उनलाई पैसा कमाउन धेरै टाढा जानु परेको छैन । शहीदचोकदेखि पुलचोकसम्मका विभिन्न स्थानमा ठेला गुडाएर मकै बिक्री गर्दैमा उनको दिन बित्ने गर्दछ । ‘पहिला कसरी गुजारा चलाउने भन्ने चिन्ता चलेको थियो’ श्रेष्ठले भनिन्, ‘मकै बेचेर आम्दानी भएपछि ढुक्क भएको छु ।’
लाखौं रुपैयाँ खर्च गरी घर घडेरी बन्दकी राखेर विदेश गएकाहरुजस्तै उनले मकै बेचेर पैसा कमाउन सफल भएकी हुन् । व्यवसाय, जागीर गरेर जीवन चलाउन आएकाहरु कति सफल भए, कति असफल भए । नारायणगढ र भरतपुर क्षेत्रमा भविष्य खोज्दै हिँडेकाहरु मेहनत गर्न नसक्दा असफल पनि भएका छन् ।
कामलाई सानो देख्ने, लाज मान्नेहरुका लागि ठेलामा मकै बिक्री गर्दै आएकी सानु उदाहरण बनेकी छिन् । हेर्दा सामान्य लाग्ने तर आम्दानी मनग्य हुने यस पेसाबाट उनी सन्तुष्ट छिन् । “सबै खर्च कटाएर दैनिक १५ रुपैयाँ बचत हुन्छ” उनले भनिन्, “महिनाको केही नभएपनि ३० हजार बचाउने गरेकी छु ।”
बिहान सबेरै उठेर मकै खेज्न जाने, खाना खाएर बिक्री गर्न बजार निस्कने उनको दैनिकी हो । “महिनाको ३० हजार कमाउन विदेश नै जानु पर्छ । मैले यहीँबाट कमाएको छु” सानुले भनिन्, “डुलाएर विक्री गर्दा सजिलै आम्दानी हुन्छ, दिनभरी उभिँदा भने थकाई लाग्छ ।” मकै पोलेर बिक्री गर्ने भनेर हेप्ने गर्दा भने उनलाई चित्त दुख्ने गर्दछ । ‘हामीजस्तालाई हेपेर कुरा गर्छन् के भन्ने ? कहिलेकाहीँ पेसा छोडौँजस्तो लाग्छ’ उनले भनिन्, ‘अरु काम जानेकी छैन, आम्दानी यहीबाट हुन्छ ।’
उनीसंगै मकै बेच्नेहरु धेरै कमाउन विदेश गएर दुःख पाएको उनी सम्झिन्छिन् । कति मकै पोलेर बस्ने भन्दै धेरै कमाउन कतार, साउदी गएकाहरुले यहाँ जति पनि कमाउन नसकेको उनको अनुभव छ । ‘महिनाको १५–२० हजार यहीँ कमाएका थिए’ उनले भनिन्, ‘धेरै कमाउन विदेश गए, पैसा होइन दुःख पाएर फर्के ।’
साथीहरु विदेश जाँदा उनलाई पनि रहर जागेको थियो तर गइनन् । ‘यहीँ मेहनत गरेर कमाउने धोको थियो, बिस्तारै आम्दानी बढेको छ’ उनले भनिन्, ‘श्रीमान, तीन वटा सन्तान र आफू गरेर पाँच जना परिवारलाई पालनपोषण गरेर बचत पनि भएको छ ।’
श्रीमान घर निर्माणको काममा लाग्ने र आफूले मकै बिक्री गर्दै आएकी उनी आफै मकै किन्न नवलपरासीको गैंडाकोट जाने गर्दछिन् । गैंडाकोटबाट ठेक्कामा किनेर ल्याएर नारायणगढमा बेच्ने गरेकी छिन् । दैनिक तीन सय घोगा मकै बिक्री गर्ने उनी पुलचोकमा दुई सय, सहिदचोक क्षेत्रमा एक सय मकै बेच्ने गरेको बताउँछिन् ।
“श्रीमानले मिस्त्री काम गर्नु हुन्छ । मैले मकै पोलेर बेच्छु, घर चलेको छ । कमाइ पनि भएको छ” उनले भनिन्, “काम गर्न नसकेको बेला एक रुपैयाँ पनि कमाउन सकिँदैन । शरीरमा बल हुँदा कमाउने हो । बल नभएको बेला बस्ने । बन्द भएको बेला त्यति बिक्री हँुदैन, समस्या पर्ने गर्दछ ।”
‘हरेक दिन कमाएर खाने हामीजस्तालाई बन्द र हड्तालले धेरै मार पर्ने गर्दछ’ गर्मीभन्दा जाडो मौसम व्यापारको लागि उपयुक्त हुने गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘मेला, महोत्सव, कार्यक्रम हुँदा व्यापारमा सुधार आउने गर्दछ । चिसो बढ्यो भने अझ व्यापार राम्रो हुने गर्दछ ।’
उनीजस्तै सडकमा ठेला गुडाएरै मासिक ३५ हजारभन्दा बढी कमाउने गरेको चटपटे व्यवसायी संजयकुमार बताउँछन् । भारतको मोतिहारी जिल्ला घर भएका उनी नारायणगढमा ठेलामा चटपट बिक्री गर्दछन् । पानीपुरी, चटपट बेचेरै दिनको तीन हजारभन्दा बढी कमाउन सकेको उनी बताउँछन् ।
“गर्मीभन्दा जाडो मौसम हाम्रो लागि उपयुक्त हो । अहिले दिनको केही नभएपनि तीन हजार बचत हुने गर्दछ” संजयले भने, “धेरै महिलाहरुले चटपट मन पराउने गर्दछन्, आफ्नो ग्राहक पनि महिला हुन्छन् ।” विद्यालयको टिफिन टाइम र छुट्टीको समयामा उनी स्कूलको गेट अगाडि जाने गर्दछन् । अन्य समयमा भने बजारका गल्ली र सडकमा चटपट बिक्री गर्छन् ।
अमिलो पिरो, खान मन पराउनेहरुले चटपटे रोज्ने गरेको उनको भनाई छ । ‘पहिला हामीले यो व्यापार गर्दा हेप्ने गरेका थिए, अहिले त नेपालीहरुले पनि बेच्न थालेका छन्’ उनले भने, ‘आफूसंग धेरै पैसा थिएन, त्यसैले चटपट र पानीपुरी बेच्न थालेको हो । यहीँबाट राम्रै कमाएको छु । अरु ठूलो व्यापार किन गर्ने ?’
तीन वर्ष अगाडि नारायणगढ आएका उनी यही व्यापारबाट गाउँमा घडेरी किनेर घर बनाउने तयारीमा छन् । ‘तरकारी बेच्ने, अरुको काम गर्ने गरेको थिएँ, आफैले व्यापार गर्छु भनेर चटपट बेचेको, अहिले राम्रो भएको छ’ उनी भन्छन् ।
नारायणगढमा व्यापार गर्ने साना व्यवसायीले राम्रो आम्दानी गरेपनि भरतपुरका केही साना व्यवसायी भने धेरै कमाउन नपाएकोमा चिन्ता व्यक्त गर्दछन् । उनीहरु बजारमा बेच्नेहरुले आफूलाई छिर्न नदिएको आरोप लगाउँछन् । ‘धेरै वर्षदेखि उनीहरुले त्यहाँ बेचेका छन्, हामी बिक्री गर्न जाँदा लखेट्छन्’ भरतपुरको बाइपास रोडमा मकै पोलेर बिक्री गर्दै आएकी सोना कानुले भनिन्, “बजार सबैको हो, मकै बेच्न गयो भने लखटेर बस्न दिँदैनन् । उनीहरुको मात्र जग्गाजस्तो गर्दछन् ।”
“कमाएर खानलाई किन दिँदैनन्, हाम्रो पनि बजार हो । उनीहरु भन्छन् व्यापार गर्ने यो ठाउँ हाम्रो हो, तिमीहरुले पाउँदैन” उनले भनिन्, “नारायणगढमा बेच्न नदिएपछि भरतपुरको बाइपास रोडमा मात्र मकै बेच्ने गरेको छु ।” उनलाई यो क्षेत्रमा पनि व्यापार गर्न सहज भने छैन । दुई वर्ष अगाडिबाट मकै पोलेर बेच्न थालेकी उनले मालपोतचोकमा बसेर बिक्री गर्न पनि पाइनन् ।
‘त्यहाँ पनि पहिलादेखि बेच्दै आएकाले लखटे । हामी गरीबहरुलाई त गरेर खान पनि दिँदैनन्’ उनले भनिन्, ‘त्यसैले तालिम केन्द्रदेखि आँखा अस्पतालसम्मको बाटोमा मकै पोलेर बेच्छु । दिनको चार सय कमाउँछु, चित्त बुझाएकी छु ।’
भरतपुर क्षेत्रमा लाग्ने हाट बजार र अस्पतालको अगाडि मकै पोलेर बेच्दै आएको सानुबाबु केसीले भने, ‘काम गरेर खानलाई लाज नमाने पैसा यहीँ कमाउन सकिन्छ । मैले यो व्यवसाय गरेको सात वर्ष भयो । राम्रै आम्दानी भएको छ । गर्मीमा दिउँसो १ बजेपछि जाडोमा ११ बजेबाटै मकै बिक्री गर्दै आएको छु । यसरी बिक्री गर्दा मासिक ३० हजार बचाउन सकेको छु । आफ्नो सुरमा व्यापार ग¥यो, चिन्ता छैन । घरपरिवार चलाउनको लागि समस्या छैन ।’
कतै मनग्य आम्दानी, कतै दुःख । सानो व्यवसायमा लागेकाहरुले पनि दुःख र सुखको अनुभव गरेका छन् । तिनै अनुभवबाट उनीहरुले जीवनलाई अगाडि बढाएका छन् । पुराना व्यवसायीले आम्दानी वृद्धि गर्दै लगेका छन् भने भर्खर व्यवसाय सुरु गरेकाहरुले संघर्ष गर्दै आएका छन् । कामलाई सानो ठुलो नभनी व्यवसाय चलाउन सके सानै व्यवसायबाट आकर्षक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् यी पात्रहरु ।

माग स्थानीय निर्वाचनको

शालिग्राम नेपाल
‘घर नजिकै बाटोमा खाल्टो भएको धेरै भयो तर मर्मत हुन सकेको छैन । हामीले कसलाई भन्ने ?’ पश्चिम चितवनको साविकको पार्वतीपुर गाविस वडा नम्बर पाँचकी कान्छी तामाङले भनिन्, ‘पहिला वडाका नेता हुन्थे, भन्न सजिलो थियो । अहिले नेता छन् तर काम हुँदैन । नेतालाई भन्यो नगरपालिका कार्यालयले मान्दैन, हामी निर्वाचित भएर गएका छैनौँ भन्छन् । यस्तो समस्या कति भोग्नु ?’
‘चुनाव चुनाव भनेको धेरै भयो तर भएको छैन’ शुक्रनगर लेवर नगरका रामप्रसाद सापकोटाले भने, ‘संविधान सभाको चुनाव भयो तर गाविस र नगरपालिकाको भएन । स्थानीय तहको चुनाव भएमात्र हाम्रा कुरा सुन्ने थिए ।’
‘हाम्रो बारीमा लगाएको बाली जनावरले खाएर हैरान पारेको छ । यो समस्या कस्ले बुझ्ने ?’ उनले भने, ‘सांसदलाई भेट्न वर्षदिन कुर्नु पर्छ, त्यो पनि ठेगान छैन । हामीले आफ्नै गाउँबाट नगरपालिकामा जिताएर पठाउन पाए सजिलै भेट्न पाइने थियो । हाम्रा गुनासा सुन्ने नेता हाम्रै गाउँमा हुनु पर्छ । त्यसको लागि स्थानीय तहको निर्वाचन आवश्यक छ ।’ 
पार्वतीपुरको लमजुङचोक नजिकैकी सुन्तली लामाको भनाई पनि उस्तै छ । ‘घर अगाडिको बाटोमा धुलो उडेर बस्न हँुदैन । पिच गर्ने कुरा कसैले गर्दैन । बाटो बनाउनेलाई मात्र भोट दिन्छु भनेको, चुनाव आएको छैन’ उनले भनिन्, ‘गाउँगाउँमा चुनावजस्तै गरी पार्टीको कुरा सुनाउन आएका छन् तर काम भएको छैन । चुनाव भइदिए हाम्रा गुनासा राख्ने ठाउँ पाइने थियो कि ।’
‘दुई पटक चुनावमा जिताएर पठायौँ, गाउँको विकास भने भएको छैन’ अर्का स्थानीय गोपी पौडेलले भने, ‘खानेपानी, सिँचाइ, समयमा मल र बीउ दिन सक्ने नेतालाई मेरो भोट दिनु पर्ला भनेको, निर्वाचन कहिले हुने हो ?’ 
उनकोजस्तै विचार छ गुञ्जनगर गाविस वडा नम्बर चारका गोविन्दप्रसाद पौडेलको । ‘अब स्थानीय तहको चुनाव आवश्यक भइसकेको छ । संविधान बन्यो । देशले एउटा गति लिन थालेको छ । अब गाउँ र नगरको निर्वाचन आवश्यक छ । स्थानीय निर्वाचन नभएसम्म यो अस्थितरता कायम रहन्छ’ उनले भने, ‘हामी किसानी हौँ, कृषकको समस्यालाई समाधान गर्न सक्ने स्थानीय नेता चाहिन्छ । त्यसको लागि गाउँमा निर्वाचन हुनै पर्छ ।’
सोही स्थानका व्यावसायिक किसान हरिप्रसाद पौडेललाई पनि किसानको समस्या सुनिदिने नेतालाई भोट हाल्ने योजना छ । व्यावसायिक तरकारी खेती गर्दै आएका उनले उन्नत जातको बीउ, बजार भाउ पाउने व्यवस्था, विपदका कारण क्षति भए राज्यबाट राहतको व्यवस्था, मलको व्यवस्था गराउन सक्ने नेता अबको आवश्यकता भएको उनले बताए । ‘हिजो पनि संसदीय निर्वाचनमा भोट दिएर जितायौँ, केही काम भएन’ उनले भने, ‘आज पनि त्यस्तै निर्वाचन भयो भने अवस्था उस्तै हो । हाम्रो समस्या बुझ्ने नेता भएन भने गाउँको विकास हँुदैन ।’
‘संसदीय निर्वाचनले मात्र गाउँघरको समस्या समाधान हँुदैन’ नारायणगढ बेलचोकका लक्ष्मण शर्माले भने, ‘गाउँको विकास जनताको समस्या सुन्नको लागि स्थानीय तहको निर्वाचन नै चाहिन्छ । नगरपालिकामा जनप्रतिनिधि नहुँदा हामीले धेरै समस्या भोग्नु परेको छ । ती समस्याको समाधानको लागि हामीले रोजेको नेता सम्बन्धित निकायमा पुग्नै पर्दछ । निर्वाचन किन गर्दैन सरकारले ? यो हाम्रो प्रश्न हो ।’
‘स्थानीय तहको निर्वाचन नभएसम्म अस्थितरता कायम रहन्छ’ भरतपुर उपमहानगरपालिकाका एक अधिकृतले भने, ‘नगरको विकासको लागि स्थानीय तहको निर्वाचन आवश्यक पर्दछ । कर्मचारीले मात्र जनताको सबै कामको जिम्मेवारी लिएर हिँड्नलाई गाह्रो पर्दछ । हामीले पाएको जिम्मेवारी पूरा गरेका छौं तर पनि विकास निर्माणको लागि जनप्रतिनिधि सबैभन्दा राम्रो माध्यम हो ।’
‘जनताको काम गर्नको लागि जनप्रतिनिधि नै चाहिन्छ’ उनले भने, ‘कतिपय कुराहरु हामीले गर्न सक्दैनौँ । त्यो काम जनप्रतिनिधिले मात्र गर्न सक्दछन् । कर्मचारीलाई दबाब दिइन्छ तर के गर्नु ?’ 
लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले अब स्थानीय तहको निर्वाचन अत्यन्त आवश्यक भइसकेको नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । नेपालको संविधान २०७२ ले पनि तीन तहको निर्वाचन आउँदो माघ सात गतेभित्रै गर्नु पर्ने प्रावधन तोकेकाले निर्वाचनमा जानुको विकल्प नभएको उनले बताए ।
‘हामी निर्वाचनको पक्षमा छौँ’ उनले भने, ‘यो वा त्यो बहानामा निर्वाचन नहुने वातावरण आवश्यक छैन ।’ गाउँ, जिल्ला र देशको विकास र समृद्धिको लागि निर्वाचन नै उपयुक्त माध्यम भएको उनको भनाइ छ । 
‘संविधान निर्माणपछि देशले एउटा बाटो लिएको छ’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘स्थानीय निकाय, प्रदेश र संसद तीनै तहको निर्वाचन अबको आवश्यकता हो । संविधानले पनि यही बोलेको छ । जनताले अब निर्वाचनको माग गर्न थालेका छन् । सरकारले अविलम्ब निर्वाचनको मिति तोकेर निकास दिनु पर्दछ ।’
निर्वाचन केन्द्रीत कार्यक्रमहरु पार्टीले सञ्चालन गरिराखेका छन् । नेकपा एमाले, नेपाली काँग्रेसले जनतामाझ घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । नेकपा एमालेले जनपरिचालन तथा घरदैलो कार्यक्रम चलाएको छ भने नेपाली काँग्रेसले पनि गाउँघरमा पुगेर आफ्ना पार्टीका एजेण्डाहरु जनता माझ राखेको छ ।
संविधान सभाको निर्वाचन दुई पटक भइसकेको छ । तर दुई दशक पुग्दा पनि स्थानीय तहको निर्वाचन हुन सकेको छैन । गाउँघरको सानादेखि ठुला कामहरु स्थानीय नेताहरुले नै पूरा गर्न सक्दछन् । संसदीय निर्वाचनले गाउँको समस्या सुन्ने फुर्सद हुँदैन । उनीहरुलाई राष्ट्रिय राजनीति र समस्याको विषयमा ध्यान केन्द्रित गर्नु पर्ने हुन्छ । त्यसैले गाउँ, नगर र जिल्लाको विकासका लागि स्थानीय तहको निर्वाचन आवश्यक भएको स्थानीयहरुले बताएका छन् ।
अहिले राजनीतिक दलहरुले गाउँघरमा चलाएको पार्टीको अभियानको क्रममा सहभागी भएका तथा नभएकाहरुको एउटै मत छ, निर्वाचन भएर निकास मिलोस् । अस्थिर राजनीतिक अवस्थाबाट मुक्ति पाइयोस् ।

एकीकरणका महानायक पृथ्वीनारायण

शालिग्राम नेपाल
एकताका प्रतिक पृथ्वीनारायण शाह हाम्रो इतिहासका एक धरोहर हुन् । उनको योगदानले गर्दा अहिले हामीले नेपाल भनेर यो मुलुक चिन्न पाएका छौं । यस्ता महानायकलाई राज्यले सम्झन सकेको छैन । सानासाना राज्यमा विभाजित नेपाललाई एकीकरणको महान अभियानको थालनी गरेका महानायक पृथ्वीनारायण शाहलाई राज्यले सम्झने प्रयास गर्न छाडेको एक दशक हुन थाल्यो । लोकतान्त्रिक आन्दोलन र त्यसपछि स्थापना भएको सरकारले गणतन्त्र घोषणा गर्दै राजसंस्थाको उन्मुलनसंगै राजाको अवशेष रहने सबै विषयवस्तु मेटाएको हो ।
टुक्राटुक्रामा रहेको नेपाललाई एकीकरणको सुरुवात गरेका उनै पृथ्वीनारायणको कामको अहिले चर्चा चल्न थालेको छ । गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमले नेपाललाई संघीयतामा लैजाने तयारी भएपछि उनै राजाको महान अभियानको कामको चर्चा चल्न थालेको हो । विकेन्द्रीकृत सेवा बिस्तारको लागि हुन थालेको संघीयताले कतै देश टुक्रा पार्ने त होइन भन्ने चिन्ता छाएको छ । राजनीतिक घटनाक्रमले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै इतिहासलाई पनि सम्झनु पर्ने विज्ञहरुले बताएका छन् ।
देश संघीयतामा गइरहँदा देशलाई एकीकरण गर्ने सूत्राधार व्यक्तिलाई नै बिर्सनु र एकता दिवस नै नमनाउने काम सन्तोषजनक नभएको इतिहास विषय पढाउने प्राध्यापकहरुको भनाई छ । तत्कालीन अवस्थामा गरेका राम्रा कामको अनुसरण र नराम्रा कामलाई लत्याउँदै इतिहासको महान कार्यलाई पछिल्ला पुस्ताले भुल्न नहुने ती प्राध्यापकहरुको बुझाई छ ।
राष्ट्रिय एकता कायम गर्ने क्रममा महान अभिायन चलाएका पृथ्वीनारायण शाहलाई भुल्नु सकरात्मक नभएको इतिहासका प्राध्यापक डाक्टर इश्वरीराज लौडारीको भनाई छ । ‘टुक्राटुक्रामा रहेको नेपाललाई एकीकरणको सूत्रमा राख्ने काम गरेका उनलाई इतिहासले राम्रो मूल्यांकन गरेको छ’ उनले भने, ‘उनको यो अभियानलाई उनका उत्तराधिकारीले पूरा गरेर अहिलेको नेपाल वन्न पुगेको हो । उहाँपछिका केही राजाहरुले शक्तिको दुरुपयोग गरेर नराम्रो काम गरे भन्दैमा राम्रा काम गरेका राजाको सम्झना गर्न नहुने भन्ने छैन ।
विशेषगरी वीरेन्द्रपछिका ज्ञानेन्द्रको गतिविधिले जनता चिढिएका हुन् । गणतन्त्रपछि राजसंस्थाप्रति घृणाको अवस्था आउनु पछिल्ला राजाले गरेको व्यवहार हो । राष्ट्रिय एकताको प्रतिकका रुपमा पृथ्वीनारायणलाई मनाउनु न्यायोचित हुन्छ । नेपालको इतिहासमा योगदान दिएका व्यक्ति पृथ्वीनारायण, भीमसेन थापा, जंगबहादुर राणा लगायतलाई पनि हामीले सम्मान गर्दै सम्झनु आवश्यक छ । ऐतिहासिक उपलब्धिपछि जनताको निशाना राजसंस्थाप्रति मात्रै देखिएको छ । तर राणाहरुको अवशेषका विषयमा कोही आक्रमक देखिएको छैन । २०६२।६३ पछि केही वर्ष राजसंस्थाको विषयमा सुन्न नचाहनेहरु ती संस्थाले गरेको राम्रो कामको बारेमा बिस्तारै बोल्न थालेको उनको तर्क छ ।
राष्ट्रिय एकताका प्रतिकका रुपमा रहेका पृथ्वीनारायणलाई सरकारले भुल्ने काम ठीक नभएको इतिहास विषयका अर्का प्राध्यापक डाक्टर देवी कँडेलको भनाई छ । तत्कालको लागि साम्राज्यवादी देखिएपनि नेपालको हितको लागि पृथ्वीनारायणले राम्रो काम गरेका हुन्, प्रा.डा. कँडेलले भने, इतिहासले महत्वपूर्ण स्थान दिएको उनलाई अहिलेको सरकारले भुल्नु न्यायोचित होइन ।
एकता दिवस नमनाएर अहिलेका नेताहरुले ऐतिहासिक भुल गरेको उनको भनाई छ । आफूले राम्रो काम गर्न नसक्ने तर अरुले गरेको कामको सम्मान पनि नगर्ने सँस्कार ठीक नभएको उनले बताए । नेपालको इतिहासमा पृथ्वीनारायण शाहले  थालेको अभियानलाई ज्यादै महत्व र सम्मानको साथ हेरिएको छ । बाइसे, चौबीसे राज्यमा विभाजन भएको राज्यलाई एकीकरण गर्दा ती राज्यका राजालाई त नराम्रो भयो होला, साम्राज्यवादी भयो होला तर समग्र नेपालको लागि ज्यादै उपलब्धि हो, डाक्टर कँडेलले भने । त्यही समयको सम्झना अहिले जनतामा छाएको छ । नेपाल देश टुक्रा भएको कोही पनि सच्चा नेपालीले देख्न चाहँदैन । अहिले भइरहेको तरल अवस्थामा विदेशीले नेपालमाथि आँखा गाडेको छ । तर यहाँका जनतालाई यो मन परेको छैन । यस्तैयस्तै जनताहरुले नै ती महान अभियानकर्ताहरुलाई सम्झने हुन् । 
जनआन्दोलनको उपलब्धिपछि राजसंस्थाप्रति जनतामा नकारात्मक धारणा आएको छ । नराम्रा काम गरेका राजाप्रति यस्तो सोच आउनु ठीक हो तर इतिहासको सम्झना रहने, कला, सँस्कृतिको जगेर्ना गर्नु पर्ने धरोहरलाई नास गर्नु राम्रो होइन । नेपालको इतिहासमा के कस्ता कला, सँस्कृति थिए भन्ने संरचनाहरुलाई केही व्यक्तिले लडाएकोप्रति उनले चिन्ता व्यक्त गरे  ।
तर्कको आधारमा तत्कालीन राजाहरुलाई नराम्रो मान्नु, उनीहरुको काम ठीक भएन भन्नु आफ्नो लागि उचित होला तर इतिहासले मानेको व्यक्तिलाई बेठीक मान्न नहुने तर्क गर्छन् वीरेन्द्र क्याम्पसमा इतिहास विषय पढाउँदै आएका अर्का प्राध्यापक महेश अधिकारी । राज्य एकीकरण गर्दा उनले आफ्नै वंशलाई मात्र राज्य कहिल्यै दिन चाहेनन्, अधिकारीले  भने, नेपाल राज्यलाई मात्र बृहद बनाउने उनको सोच थियो । उनी विस्तारवादी भएको भए एकीकरण गर्दैनथे । जनतालाई राहत दिन र उनीहरुको न्यायको लागि आफूले विजय हासिल गरेका राज्यका जनतालाई पृथ्वीनारायणले सहयोग गरेका छन् ।
पछिल्ला दिनहरुमा शाहवंशीयले नराम्रो काम गरेको कारण सबै राजा नराम्रा हुन् भन्ने सोचाई भएको हो तर राम्रा काम गरेका राजालाई हामीले सम्मान गर्नु पर्दछ । राणा शासनकाल नराम्रो हो भनी हामी चर्चा गर्छौ तर राणाहरु सबै नराम्रा पनि थिएनन् । देशको लागि राम्रो काम गरेका, विकास ल्याएका, सुधारका काम गरेका राणाहरु पनि छन् । तिनलाई पनि हामीले सम्झनु पर्दछ ।
नातिले नराम्रो काम गरेको छ भन्दैमा हजुरबुबालाई सराप्नु ठिक होइन, अधिकारीले भने, पृथ्वीनारायण शाहलाई सरकारले बिर्सेपनि जनताले सम्झनु पर्दछ । केही वर्ष अगाडि नसम्झेकाहरुले पनि अहिले सम्झन थालेका छन् । कार्यक्रमहरु हुन थालेका छन् । नेपाल एकीकरणको लागि चालेको महान कार्य जहिले पनि सान्दर्भिक छ र अहिले पनि त्यो कामको चर्चा हुने गरेको छ ।
गणतन्त्र स्थापना भएसंगै पृथ्वीनारायण शाहको कामको चर्चा सरकारको तर्फबाट भएको छैन । मनाउँदै आएको राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । तर अहिले संघीयतामा देश गइरहँदा कहीँ कतै नेपाल टुक्रन लागेको त होइन भन्दै जनताले चर्चा गर्न थालेका छन् । यो समयमा उनै राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहलाई सम्झनेको संख्या बढेको छ । उनको सम्झनामा हुने एकता दिवस पुस २७ गतेलाई राष्ट्रिय रुपमा मनाउन माग गरिएको छ । यसलाई अभियानकै रुपमा मोदनाथ प्रश्रितले सञ्चालन गर्दै हिँडेका छन् । देशका विभिन्न स्थानमा राष्ट्रिय एकता दिवस मनाउँदै आइएको छ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहलाई बिर्सने काम नेपालीले गर्नु हुँदैन ।

श्रमिक विदेशमा, पैसा भारतमा

शालिग्राम नेपाल
‘त्यो त सानो काम हो । मैलोधैलो भएर घर नजिकै किन काम गर्ने ? धेरै कमाउन त विदेश जानु पर्दछ । नेपालमा बसेर बाँच्न सकिँदैन । कमाइ नै हँुदैन ।’
यी र यस्तै भनाइ राख्ने पहाडी समुदायका नेपाली युवाहरुले एउटा पाठ सिक्नु पर्ने भएको छ । पहाडी समुदायका युवाहरुले सामान्य कामको रुपमा लिएको घर निर्माणको पेशामा मधेसी मूलका युवाहरुको बाहुल्यता रहेको छ । मधेसी मूलका र भारतबाट आएका युवाहरुले यो पेशामा काम गरिरहेका छन् । तराइवासी र भारतीय नागरिक युवाहरुले घर निर्माणको कामलाई निरन्तरता दिएका छन् । यही पेशाबाट उनीहरुले मनग्य आम्दानी गर्न सफल भएका छन् । घर निर्माणको काम न हो भनी उपेक्षा गरेको पेशाबाट अहिले करोडौँ रुपैया देशबाट बाहिरिएको छ ।
हेर्दा सामान्य लागेपनि कमाइ राम्रो हुने भएकाले मधेसी मूलका युवाहरुको चासो बढेको बताउँछन् चितवन निर्माण सेवा संघका किरण तामाङ । ‘घर निर्माणको क्रम दिन प्रतिदिन बढेको छ । यस क्षेत्रमा काम गर्ने अधिकांश दक्ष र अर्धदक्ष जनशक्ति मधेसी मूलका छन्’ उनले भने, ‘सामान्य मजदुरी काम गर्नेले पनि महिनाको १२ हजारभन्दा माथि कमाउन सक्छन्, यही पैसा कमाउनको लागि चर्को गर्मी सहेर नेपाली युवाहरु विदेशिने गर्दछन् । घर बनाउने सामान्य मजदुरदेखि ठेकेदारसम्म मधेसी समुदायका छन् ।’
संघमा आवद्ध सदस्यमध्ये ८० प्रतिशतभन्दा बढी मधेसी मूलका छन् । तीमध्ये ४५ प्रतिशतभन्दा बढी भारतीय नागरिक छन् । बाँकी ३५ प्रतिशत तराइवासी नेपाली नागरिक छन् । यो पेशामा बाहुल्यता मधेसी मूलका व्यक्तिको नै भएको उनी बताउँछन् ।
भरतपुर नगरपालिका र यसको आसपासमा घर निर्माणको काम गर्ने ठेकेदारहरुको संस्था चितवन निर्माण सेवा संघ हो । यो लाइसेन्स नभएका घर निर्माणको लागि पाँच सात जनादेखि माथि दक्ष र अर्धदक्ष जनशक्ति लिएर काम गर्ने ठेकेदारहरुको संस्था हो । एक, दुई तलादेखि माथिको निर्माणमा काम गर्नेहरु आवद्ध भएर आफ्नो हित र घर निर्माण गर्न चाहेकाहरुलाई सहज बनाउन खोलेको सस्था हो ।
यही सस्थासंग आवद्ध भएका ठेकेदारहरुले अहिले भरतपुर नगर क्षेत्रमा साना घर निर्माण गर्ने कार्य गर्दै आएका छन् । संघमा अहिले नवीकरण भएका दुई सय तीन सदस्य छन् । नवीकरण नभएका र संस्थासँग आवद्ध नभएका योभन्दा धेरै रहेको संघले जनाएको छ । एउटा ठेकेदारसंग ३० देखि ४० जना दक्ष र अर्धदक्ष जनशक्तिले काम गर्दछन् । शहरीकरणले घर निर्माणको काम तीब्र भएकाले यहाँ काम गर्नेहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ । दक्ष जनशक्तिले दैनिक आठ सय रुपैयाँ र अर्धदक्षले चारदेखि ६ सय रुपैयाँ लिने गरेको तामाङले बताए ।
‘हाम्रो पहाडी समुदायका युवामा यो पेशालाई सम्मानका साथ हेर्ने गरेको पाइँदैन, सुरुमा काम गरेपनि निरन्तरता नदिँदा कमाउन सकेका छैनन्’ उनले भने, ‘दिगो भएर काम गर्न सके यही कामबाट मनग्ये कमाउन सकिन्छ । दक्ष व्यक्तिले महिनाको २० हजारभन्दा धेरै कमाउन सक्छ । त्योभन्दा थोरै कमाउन एक लाखभन्दा बढी खर्च गरेर खाडी मुलुक जाने गर्दछन् । यही कमाइ रहेका व्यक्ति संघबाट सिफारिस मागेर जाने ४० जनाभन्दा बढी पुगेका छन् ।’
घर निर्माणको काममा मजदुरी गर्दै आएका भारतीय नागरिकले लाखौँ रुपैयाँ नेपालबाट लैजाने गरेको देखिएको छ । एउटा ठेकेदारको मातहतमा काम गर्ने दक्ष र अर्धदक्ष गरी ४० जनाभन्दा बढी मजदुरहरु रहेका हुन्छन् । उनीहरुले दुई महिनामा पाँच लाखसम्म लैजाने गरेका छन् । ‘मैले ४० जनालाई काममा लगाएको छु । दुई महिनामा तलब दिँदा पाँच लाख खर्च हुने गरेको छ’ ठेकेदार मेवालाल पटेलले बताए । १९ वर्ष अगाडिदेखि चितवनमा घर निर्माण सम्बन्धी काम गर्दै आएका उनले चार वर्षदेखि ठेकेदारको जिम्मा लिएका छन् । ‘पहिला यही मजदुरी काम गर्दै आएको थिएँ । कमाइ राम्रै हुन्छ तर निरन्तरता दिन सक्नु पर्छ’ उनले भने, ‘आउने, जाने, नटिक्ने गर्नाले काम लगाउन समस्या पर्ने गरेको छ । दक्ष भएर काममा लाग्न सके राम्रो कमाइ गर्न सकिन्छ ।’
भारतको वेतीया जिल्ला घर भएका उनले काम गर्ने सबै मजदुर भारतीय नै राखेका छन् । आफ्नै घर वरपरबाट काम गर्ने मजदुर ल्याउने गरेको र काम सिक्न आउनेलाई पनि दैनिक चार सय रुपैयाँ दिने गरेको उनी बताउँछन् । दक्ष मजदुरलाई दैनिक आठ सय रुपैयाँभन्दा बढी दिने गरेको पटेलले बताए । ‘यही पेशाबाट घर परिवारको खर्च पु¥याएर बचत पनि गरेका छन्’ उनले भने, ‘मेहनत गर्नेलाई यहीँबाट कमाइ हुन्छ । अन्य क्षेत्रमा जान पर्दैछ ।’
यस पेशामा लाग्ने भारतीय नागरिक धेरै रहेका छन् । भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र यस आसपासका क्षेत्रमा घर निर्माण गर्ने कार्यमा उनीहरुकै बाहुल्यता पाइन्छ । मधेसी मूलका ठेकेदार र कामदारप्रतिको विश्वास घरधनीमा रहेकाले मजदुरहरुको पनि सङ्ख्या बढेको संघमा आवद्ध पहाडी मूलका ठेकेदारले बताएका छन् । काम गराउन सजिलो र कम लागतमा निर्माण कार्य हुने भएकाले तराइ मूलका मानिस खोज्ने गरेको भरतपुर ८, गौरीगञ्जका मनोज पौडेल बताउँछन् ।
पाँच वर्षदेखि ठेकेदारी गर्दै आएका पर्सा जानकी टोल घर भएका सर्फुद्दिन अन्सारीले आम्दानी राम्रो हुने भएकाले आफूले काम गरेको बताए । ‘मैले २० जनालाई काम दिएको छु । उनीहरुले दुई महिनामा तीन लाखभन्दा बढी लैजान्छन् । मेहनत गरेर काम गरे यहीँ कमाइ हुन्छ, किन जानु पर्छ विदेश ?’ उनले भने, ‘लाखौ रुपैयाँ त भारत जान्छ, हामी नेपाली किन दुःख गर्न विदेश जाने ? हामी आफै यहीँ काम गर्ने, यहीँ कमाउने ।’
भरतपुर नगर क्षेत्रभित्र घर निर्माणको लागि काम गर्ने मजदुरहरुको आधिकारिक लगत संकलन हुन सकेको छैन । घर निर्माणको क्रम बढेको छ, यहाँ काम गर्ने मजदुरहरुको संख्या पनि बढेको छ तर उनीको आधिकारिक तथ्याङ्क उपलव्ध हुन सकेको छैन । उनीहरुको संस्था चितवन निर्माण सेवा संघमा आवद्ध भएका भारतीय ठेकेदार र उनीहरुसंग काम गर्ने मजदुरहरुलाई दिएको खर्च अनुमान गर्दा मासिक करोडभन्दा बढी रुपैयाँ भारत गएको पाइएको छ । 
नेपालमा आएर भारतीयले काम गरेर एउटा सानो क्षेत्रबाट करोडौँ रुपैयाँ भारत गएको देखिन्छ । यहाँका युवाले यहीँ काम गरेर आयआर्जन गर्न सके नेपाली रुपैयाँ यहीँ रहने थियो ।

आन्तरिक पर्यटक तान्दै ज्ञानेश्वर

शालिग्राम नेपाल
वनभोज खान कहाँ जाने ? होटल तथा रेष्टुरेन्ट बाहिर भेटघाटको कार्यक्रम कहाँ राख्ने ? नारायणगढ बजारबाट नजिकै केही समय घुम्न कहाँ जाने ? यी सबैको विकल्प बन्दै गएको छ, ज्ञानेश्वर सामुदायिक वन क्षेत्र ।
ब्रिटिश क्याम्प, डाँडाकालिका मन्दिर फेदी, गणेशस्थान, सौराहा, मेघौली यी सबै स्थानभन्दा भरतपुर र नारायणगढबाट नजिकै रहेको ज्ञानेश्वर वन क्षेत्रले सबैको ध्यान तान्न थालेको छ ।  पर्यटकीय क्षेत्रका हिसाबले आकर्षणको केन्द्र बन्दै गएको  ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा वनभोज खाने स्थान पाउन मुश्किल हुन थालेको छ । वन्यजन्तु हेर्न वा वनभोज खान, विभिन्न संघसंस्थाको बैठक, अधिवेशन यही क्षेत्रमा हुने गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरी सामुदायिक वनले सानो चिडियाघर, बालबालिका खेल्नको लागि पानी पोखरी, झुलालगायत निर्माण गरेपछि यहाँ आउनेको भीड बढ्न थालेको छ । पछिल्ला दुई शनिबारमात्रै यस क्षेत्रमा चार हजारको संख्यामा वनभोज खान जानेहरुको भीड थियो । यहाँ हरेक शनिबार, सार्वजनिक बिदा र अन्य दिनमा पनि वनभोज खान जानेहरुको भीड बढ्ने गरेको छ ।
नारायणगढ, भरतपुर र यस आपासका विभिन्न संघसंस्थाका गतिविधि तथा विशेष गरी वनभोज खाने गरी यहाँ आउने गरेका छन् । सामुदायिक वनले आफ्नो क्षेत्रमा वनभोज स्थल, पौडी पोखरी, पर्यटक घुम्नको लागि वन्यजन्तु हेर्न सकिने बातावरण निर्माण गरेपछि यसको आकर्षण बढेको छ ।
‘यहाँ आउने पर्यटकको संख्या वृद्धि भएपछि हामीले भौतिक संरचनालाई पनि ध्यान दिएका छौं’ ज्ञानेश्वर सामुदायिक वनका पूर्वअध्यक्ष वसन्तकुमार थापाले भने, ‘केही वर्ष अगाडिसम्म सिजनमा मात्र भीड लाग्ने यहाँ अहिले सबै महिनामा उत्तिकै मानिसको चाप हुने गरेको छ ।’ ज्ञानेश्वर सामुदायिक वनको कार्यालय नजिकै नारायणी नदी किनारमा वनभोज खानको लागि मानिसहरुको भीड लाग्न थालेपछि कार्यालयले सुविधा बढाउन थालेको छ ।
नारायणी नदीको किनारमा बसेर रमाइलो गर्दै आफ्ना कार्यक्रम गर्न पाइने भएपछि संस्थागत रुपमा नै यहाँ आउनेहरुको संख्या बढेको उनको भनाई छ । ‘घरबाट नजिकै रमाइलो गर्न पाइने शान्त स्थान भएकाले यहीँ रोजेका हौं’ नवलपरासीको भेडाबारीबाट वनभोज खान आएका नवराज तिमल्सिनाले भने, ‘शान्त स्थान छ, पानीको राम्रो व्यवस्थापन । भाँडा ल्याउन झन्झट नुहने, वन्यजन्तु हेर्न मन लागे त्यो पनि पाइने । सबै कुरा एकै स्थानमा पाइने भएपछि अरु स्थानमा जानु परेन ।’ शिक्षण पेशामा आवद्ध तिमल्सिनाले आफू वर्षको चार पटकसम्म यही स्थानमा विभिन्न संस्थामार्फत आउने गरेको बताए ।
‘बजारबाट नजिकै उपयुक्त स्थान भएकाले यहाँ आएका हौं’ वनभोज खान गएका भरतपुरको शान्ति एकेडेमीका प्रमुख समुन्द्र कट्टेलले भने, ‘सबै वातावरण पायक पर्ने स्थान सबै राम्रो भएकैले रोजाईमा परेको हो ।’ साविकको मंगलपुर गाविस वडा नं. ५ मा रहेको ज्ञानेश्वर सामुदायिक वनमा चितवन बाहिर नवलपरासी, रुपन्देही, पाल्पा, गोरखा लगायतका स्थानबाट समेत वनभोज खान आउने मानिसहरुको भीड लाग्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
वनभोजका लागि आउने पर्यटकको संख्या धेरै भएसंगै लोपोन्मुख एकसिंगे गैंडा हेर्नको लागि पनि यहाँ आउने पर्यटकको संख्या वृद्धि भएको सामुदायिक वनका पूर्वअध्यक्ष थापाले बताए । ज्ञानेश्वर, सेतीदेवी र छिमेकी अन्य सामुदायिक वन क्षेत्रमा सजिलै गैंडा देख्न सकिने भएकाले हेर्न आउनेको संख्या बढेको उनको भनाई छ । 
वनभोजका लागि सिजन मानिएको कात्तिकदेखि माघसम्म चार महिनामा २० हजार जना भन्दा बढी हुने गरेको कार्यालयले जनाएको छ । उनीहरु यहाँ आएर वनभोज खाए वापत लिने शुल्कबाटै भौतिक संरचना निर्माण र आकर्षक विभिन्न संरचना निर्माण गरिँदै आएको बताए । सामुदायिक वनको पर्यटकीय क्षेत्रमा अहिले सानो चिडियाघर रहेको छ । त्यहाँ अष्ट्रिच, मृग, चित्री, अजिंगर, मयूर, बाँदर, मगर गोही, लुपुना, खरायो लगायतका वन्यजन्तु तथा पंन्छीहरु राखिएका छन् । ती जनावर हेर्नको लागि १० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । बालबालिकाको लागि त्यस्ता जनावरले मनोरञ्जन दिने  थापाले बताए ।
‘बालबालिकोको लागि जनावर, हामीलाई रमाइलो गर्ने स्थान सबै एकै ठाउँमा पाइने देखेर खुसी लागेको छ’ मकवानपुरको बसामाडीबाट वनभोजका लागि आएका सन्तोष लामाले भने, ‘नारायणी नदीको तिरमा एकसिंगै गैंडा हेर्दै वनभोज खान पाइने भएपछि छुट्टै आनन्द आउँदो रहेछ ।’
कार्यालयले वन क्षेत्रभित्र जनावर हेर्न चाहनेहरुलाई जंगल सफारीको व्यवस्था समेत गरेको छ । नेपालीको लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ र विदेशीको लागि पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । त्यस्तै नारायणी नदीमा वोटिङ गर्न चाहनेको लागि पनि त्यो व्यवस्था रहेको कार्यालयका एक कर्मचारीले जानकारी दिए । वोटिङको लागि प्रतिव्यक्ति घुमेरमात्र आउँदा दुई सय रुपैयाँ र खाजा खाएर घुम्दा एक हजार रुपैयाँको व्यवस्था रहेको कार्यालयले जानकारी दिएको छ ।
वनभोज खानेहरुको संख्या वृद्धि भएजस्तै ज्ञानेश्वर सामुदायिक वन क्षेत्र पनि एउटा पर्यटकीय गन्तव्य हो भन्न अब प्रचारात्मक कार्यक्रमलाई जोड दिने तयारी भएको पूर्वअध्यक्ष थापाले बताए । ‘सौराहा, नारायणगढ, भरतपुर क्षेत्रका होटलहरुसंग छलफल अन्तरक्रिया भइराखेको छ’ उनले भने, ‘बजारबाट नजिकै नारायणी नदीको मनोरम दृश्य हेर्दै गैंडा हेर्न पाइने अवसर छुटाउन हुँदैन ।’
निकुञ्जभित्र धेरै स्थानमा अवलोकन गरेपछि भेटिने गैंडा ज्ञानेश्वर वनमा थोरै समयको हिँडाइमा हेर्न पाइने व्यवस्था रहेको उनले बताए । वनले अब होमस्टे, गेष्ट हाउस, भ्यू टावर निर्माण गरी पर्यटकलाई सुविधा दिने तयारी गरेको कार्यालयले जनाएको छ ।
सामुदायिक वन क्षेत्रको अवस्था र यसको सम्भावनाका विषयमा चितवन जिल्लाका सभासदहरुको टोलीले जिल्लाका वनहरुको अवलोकन गरेको थियो । सामुदायिक वनले पर्यटकीय केन्द्र निर्माण गर्दै आयआर्जनको काम गरेको सभासद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । आहिले गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै अन्य थप कस्तो कार्यक्रम ल्याउँदा ठीक हुन्छ भन्ने विषयमा छलफल चलेको उनले बताए ।
‘यहाँका सामुदायिक वनले राम्रो प्रगति गरेका छन् । ज्ञानेश्वरमा हुने कार्यक्रम, वनभोज, साँस्कृतिक कार्यक्रमले सवैलाई लोभ्याएको छ’ पाण्डेले भने, ‘अब यस्ता कार्यक्रमलाई अझ व्यवस्थित पार्दै लैजानु जरुरी छ ।’ टोलीले वनको मुख्य स्थानहरुको अवलोकन गरेको थियो ।  
ज्ञानेश्वर सामुदायिक वन वन्यजन्तु र वनमा आधारित पर्यटन विकास गर्दै बाह्य तथा आन्तरिक पर्यटकलाई सामुदायिक वन क्षेत्रमा धेरै भित्र्याउने तयारीमा लागेको छ । प्रचार प्रसारको समय भएकाले आफ्नो स्थानमा सबै आकर्षणको अवस्था रहेपनि जानकारी नहुँदा आउने वातावरण नभएको पूर्वअध्यक्ष थापाले बताए ।
नारायणगढ बजारबाट करिब नौ किलोमिटर पश्चिम दक्षिणमा रहेको सामुदायिक वन क्षेत्रलाई व्यवस्थित पार्दै भएका वस्तुको जानकारी गराउन सके यहाँ आउने पर्यटकको संख्या अहिलेको भन्दा धेरै वृद्धि हुने थियो । वनभोजमा आएकाहरुसंग मात्र वार्षिक १५ लाख रुपैयाँ लिने वनले काठ र अन्य सबै क्षेत्रबाट वार्षिक ५० लाख रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ । त्यही आम्दानीबाट संरचना निर्माणको काम गरेको छ ।