Mon12112017

Last update01:57:25 AM

Back You are here: Home फिचर आकर्षण उखुको रसमा

फिचर

आकर्षण उखुको रसमा

शालिग्राम नेपाल . ओहो कस्तो गर्मी । गर्मीबाट केही समयको लागि शितलता दिन चिसो पदार्थको चाहना गर्छौं हामी । गर्मी बढेसंगै अहिले चोकचौतारोमा चिसो पेय पदार्थको बिक्री बढेको छ । जाडोमा न्यानो, गर्मीमा चिसो मानिसका मन पर्ने र आवश्यक वस्तु हुन् । चितवन तराइका गर्मी जिल्लामध्येको सूचीमा पर्ने भएकाले यहाँ गर्मी केन्द्रीत सामग्री र पेय पदार्थको बिक्री बढेका छन् । चितवन र आपसापका जिल्लाको प्रमुख व्यापारिक केन्द्र नारायणगढ हो । बजारमा काम सकेर भरतपुर जान हिँडेका वा बजारमा आएकाहरु एकपटक चिसो पेय पदार्थ पिउन रुचाउँछन् । त्यसमा पनि भरतपुरको ओरालोमा बिक्रीका लागि राखिएका उखुको रसको स्वाद नलिएका थोरै होलान् । नारायणगढको बजारमा काम सकेर भरतपुरतर्फ हिँडेका जो कोहीले पनि एकपटक ओरालोमा राखिएका उखुको रस खाने गर्दछन् । भरतपुरको उकालो हिँडेकाहरुको मन उखुको रसमा पुगेर रोकिन्छ । सस्तो र सर्वसुलभ भएपछि सबैको मन आकर्षित भएको छ । भरतपुर दीपेन्द्रचोककी रोजिना घिमिरेलाई पनि ओरालोको उखुको रसले लोभ्याएको छ । “बजारमा किनमेल गरी सकेर घर फर्कदा ओरालोमा आएपछि उखुको रस नखाई मन मान्दैन” उनले भनिन्, “गर्मीको समयमा उखुको रस ज्यादै मन पर्छ । बजारका प्याकेटमा राखेको जुसभन्दा उखुको रस ठीक लाग्छ । स्वास्थ्यलाई ठीक, मनमा आनन्द ।” गर्मी होस् या जाडो, जुस मन पर्ने उनलाई विशेष उखुको रस मन पर्छ । “अन्य ठाउँमा गएको बेला गर्मी लागेमा उखुको रस खान मन लाग्छ” उनले भनिन्, “अन्यत्र पिएको उखुको जुस चितवनकोजस्तो स्वादिलो लाग्दैन ।” उखुको रसप्रति उनको मात्रै चाहना बढेको होइन, बजार आएका अन्य व्यक्तिहरुको पनि उत्तिकै आकर्षण छ । चर्को घाममा हिँड्न छाडेर थकाई मार्दै उखुको चिसो रसमा आनन्द लिनेहरुको संख्या पनि बढेको छ । गर्मी बढेसंगै यसको व्यापार गर्नेहरुलाई पनि फाइदा पुगेको छ । जाडोमा सुस्ताएको व्यापार अहिले बढेको छ । स्कुल, क्याम्पसका अध्ययन गर्ने विद्यार्थी होस्, खेतीकिसानी गर्ने व्यक्ति वा अन्य व्यापार व्यवसाय गर्ने सबैले ओरालोको उखुको रस पिउने गरेका छन् । ओरालोमा १० वर्षदेखि उखुको रस बिक्री गर्दै आएका वीरेन्द्रप्रसादले भने, “यहाँ सबै वर्गका मानिसहरु उखुको रस खान आउने गरेका छन् । गर्मीमा धेरै व्यापार हुन्छ, जाडोमा थोरै । उखुको रसको महत्व बुझेकाले खाने गरेका छन् ।” उखुको रसले हुने फाइदाका विषयमा धेरै मानिसलाई कम जानकारी भएको बताउँदै उनले भने, “कोकाकोला, फ्यान्टा लगायतका चिसो खानुभन्दा उखुको रस राम्रो हो ।” उखुको रस खाँदा स्वास्थ्यलाई राम्रो गर्छ भन्ने थाहा नपाएर पनि कतिपयले नखाने गरेको उनको भनाई छ । मिनरल वाटरलाई २५ रुपैया तिरेर खानु भन्दा २५ रुपैयामा उखुको रस खानु स्वास्थ्य र शरीरलाई राम्रो हुने उनी बताउँछन् । सिजनमा राम्रो आम्दानी हुने भएपनि बेसिजनमा पनि बिक्री बढ्न सके व्यवसायलाई खोट लगाउन सक्ने अवस्था नहुने उनको भनाई छ । उखुको रस धेरै बिक्री हुने मौसम फागुनदेखि असार महिना हो । साउनदेखि मंसिरसम्म सामान्य र त्यसपछि पुस र माघ दुई महिना कम व्यापार हुने मौसम हो । “जति गर्मी बढ्छ, हाम्रो व्यापार वृद्धि हुन्छ, प्यास नलागेसम्म उखुको रस खाने बानी हामीमा छैन” उनले भने, “बिरामी वा स्वस्थ मानिस सबैको लागि उपयुक्त हुने रस नियमित खाएमा पनि राम्रो हुन्छ ।” ओरालोमा उखुको रस बिक्री गर्दै आएका अर्का हुन् देवेन्द्रप्रसाद । उनकोमा पनि उखुको रस खान आउनेहरु अहिले बढेका छन् । पहिला सडक छेउमा पसल राख्दाको जस्तो व्यापार नभएपनि गर्मीमा अन्य समयभन्दा व्यापार बढेको उनी बताउँछन् । सानो व्यवसाय गरेर बस्दा कमाएको छ भन्दै कर माग्न आएर दुःख दिँदा समस्या भएको उनी बताउँछन् । उनकोमात्र होइन, अहिले गर्मीको सिजनलाई केन्द्रीत गरी राखेका चिसो तथा पेय पदार्थको बिक्री वितरण बढेको छ । चितवन गर्मी जिल्लामा पर्ने र यहाँका बजार गल्लीमा विभिन्न साना ठूला जुस पसल सञ्चालनमा आएकाले व्यवसाय बढेको उनीहरुले बताएका छन् । भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि रहेको एक जुस सेन्टरमा पनि गर्मी लागेपछि ग्राहकको भीड लाग्ने गरेको छ । “अन्य समयमा पनि बिक्री हुने गरेको थियो” जुस सेन्टरका संचालक भन्छन्, “अहिले गर्मीले जुस र फलफूलको बिक्री बढेको छ । फलफूलको रस बनाएर बिक्री गर्दै आएको जुस पसलमा एक गिलासको लस्सी ४० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । “धेरै वर्षदेखि यही दरमा बिक्री गरेका छौं, पुरानै मूल्य खोज्छन् ग्राहकले” उनले भने, “चर्को घामले गर्मी बढेपछि जुस खानेहरुको संख्या पनि बढ्ने गर्दछ ।” मिनरल वाटर र चिसो अन्य पेयपदार्थभन्दा फलफूलको जुस खाएमा स्वास्थ्यलाई फाइदा हुने उनको भनाई छ । भरतपुर र नारायणगढका जुस पसलमा मात्र होइन, फलफूल बिक्री गर्दै आएको लायन्सचोकको मण्डीमा पनि बिक्री ह्वात्तै बढेको छ । “गर्मी लागेपछि चिसो पदार्थको व्यापार बढेको छ” खर्बुजा बिक्री गर्दै आएका ती व्यापारीले भने, “भारतबाट आउने खर्बुजाको माग पु¥याउन मुस्किल छ ।” अहिले ३० रुपैयाँ किलोमा बिक्री हँुदै आएको खर्बुजा जति घाम चक्र्यो त्यति महंगोमा बिक्री हुने गरेको उनी बताउँछन् । “नारायणगढबाट नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्लामा जाने गर्दछन्, आज ल्यायो भोलिसम्म पनि रहँदैन । अब केही समयपछि भुइँकटहर आउँछ । त्यसको पनि माग त्यत्तिकै रहन्छ” उनले भने, “फलफूलको माग बढेको छ । सबैको माग कसरी पु¥याउने भन्ने लागेको छ । गर्मी बढे लगत्तै चिसो हुने फलफूल र जुसको कारोवारमा वृद्धि भएको छ ।” चिसो पदार्थको सेवन गर्नुभन्दा पहिला त्यो कस्तो ठाउँको हो ? सफा गरिएको छ कि छैन ? स्वास्थ्यको लागि राम्रो हुन्छ कि हँुदैन भन्ने विचार गरेर फलफूल सफा गरेर खान चिकित्सकहरुले सल्लाह दिएका छन् ।