Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद महिला फूटबलमा नेपाल आर्मी र एपीएफ विजयी

खेलकुद

महिला फूटबलमा नेपाल आर्मी र एपीएफ विजयी

चितवन, ३१ भदौ । नारायणगढको क्याम्पाचौरमा जारी महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरी विजयी भएका छन् ।
पहिलो खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई २–० ले पराजित गरेको थियो । मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलमा मध्यान्तरपछि आर्मीका लागि कविता धिमाल र अन्सरी वाइबाले एक, एक गोलको योगदान गरे । धिमालले खेलको ४७ औं मिनेटमा र वाईबाले ६२ औँ मिनेटमा गोल गरेपछि खेल २–० मा टुंगिएको हो । तालिमप्राप्त विभागीय टोलीसँगको प्रतिस्पर्धामा सशक्त ढंगले उत्रिएको पश्चिमाञ्चलले नतिजा आफ्नो पक्षमा पार्न भने सकेन ।
प्रतियोगिता अन्तर्गत मंगलबारको दोश्रो खेलमा सशस्त्र प्रहरीको टोली एपीएफले गोलको वर्षा नै गरायो । सुदुरपश्चिमाञ्चललाई १०–० को फराकिलो अन्तरले पराजित गरेको एपीएफका लागि सजना रानाले मात्रै चार गोल गरिन् । अनिता बस्नेतले दुई, रेनुका नगरकोटीले दुई, सावित्रा भण्डारीले एक र सपना राईले एक गोल थपेपछि फाइनल स्कोर १०–० हुन पुग्यो । एपीएफले मध्यान्तरअघि ६ र पछि ४ गोल गरेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीविरुद्ध मध्यमाञ्चल र दोस्रो खेलमा मध्यपश्चिमाञ्चलविरुद्ध पूर्वाञ्चल भिड्दैछन् ।
यसैबीच, मंगलपुरमा जारी ज्ञानेश्वर कप फुटबल प्रतियोगितामा मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा विजयी हुँदै मंगलपुर ८ क्वार्टरफाइनलमा पुगेको छ । मंगलपुर २ लाई १–० ले पराजित गर्दै मंगलपुर ८ क्वार्टरफाइनल पुगेको हो ।