Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद च्याम्पियनसीपमा नेपाललाई पहिलो जित

खेलकुद

च्याम्पियनसीपमा नेपाललाई पहिलो जित


काठमाडौँ, ५ वैशाख । नेपाली ब्याट्सम्यानद्वय शरद भेषवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।  
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा शरद र विनोदले अविजित रहँदै ८४ रनको साझेदारी गरेपछि नेपालको धर्मराएको इनिङ उकासिएको थियो ।
नेपालले महत्वपूर्ण पाँचौँ विकेट गुमाएपछि सातौँ ब्याट्सम्यानका रुपमा क्रिजमा आएका विनोदले तीन छक्का र एक चौकाको मद्दतमा ४९ बल खेल्दै ४० रन बनाए ।
त्यस्तै तेस्रो ब्याट्सम्यानका रुपमा आएका शरदले ९९ बल खेल्दै तीन चौकाको सहयोगमा ५० रन जोड्दै अर्धशतक पूरा गरे ।
नामिबियाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ बल बाँकी छँदै अर्थात् ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो ।
शरद र विनोदबाहेक नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले २१÷२१ रन बनाए । त्यसैगरी नरेश बुढाएरले १६, राजेश पुलामीमगरले ९ तथा राजु रिजालले ६ रन बनाएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । नामिवियाका सारेल बर्गरले सर्वाधिक ३८ रन जोडेका थिए ।
यसअघि नामिवियालाई सामान्य रनको स्कोरमा समेट्न नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामीले दुई तथा कप्तान पारस र सन्दीप लामिछानेले समान एक–एक विकेट लिएका थिए । त्यस्तै,  नामिबियाका लागि बर्गर र गेरी स्यानम्यानले दुई÷दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
खेलपछि नेपाली कप्तान खड्काले प्रतियोगितामै निस्किएको पहिलो जितले नयाँ वर्षमा नेपाली क्रिकेटमा नयाँ सुरुवात हुने सङ्केत गरेको बताए । साथी खेलाडीहरुले मेहनत गरेर कठिन जित निकालेको बताउँदै उनले भने – “झट्ट हेर्दा पाँच विकेटको जित सहज जितजस्तो देखिए पनि यसका लागि धेरै लडाइँ गर्नुप¥यो ।”
खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिसहित करिब ३०÷४० हजार दर्शकको उपस्थिति थियो । नेपाल र नामिबियाबीचको अर्को खेल सोमबार हुनेछ । रासस