Sun01212018

Last update01:57:25 AM

Back You are here: Home अर्थ समाचार ऋणीलाई अन्याय नगरिएको बैंकको दाबी

अर्थ समाचार

ऋणीलाई अन्याय नगरिएको बैंकको दाबी

शंकर सुवेदी चितवन, २३ साउन । नारायणगढको लायन्सचोकमा रहेको सेन्चुरी कमर्सियल बैंकले बैंकका ऋणी लिंक इन्टरनेशनलका संचालक माधवकुमार गौतमलाई कुनै अन्याय नगरेको जनाएको छ । बैंकले शनिबार पत्रकार सम्मेलन गरी ऋणी गौतमसँग २०६९ सालदेखि कारोबार गर्दै आएको र राम्रो सम्बन्ध रहेको भएपनि पछिल्लो समय ऋणीले ऋण रकमको दुरुपयोग गरेको जनाएको छ । बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा माधव गौतमले पटकपटक गरी बैंकबाट तीन करोड २० लाख रुपैयाँ कर्जा लिएकोमा साँवा र ब्याज गरी जम्मा ७८ लाख तिरेको उल्लेख छ । बैंकले ऋणी माधव गौतमले विभिन्न मिडियाहरुमा आफूलाई अन्याय गरेको भनी आएका समाचारप्रति बैंकको ध्यानाआकर्षण भएको बताएको छ । बैंकका शाखा प्रमुख प्रकाश गौतमले ऋणी माधव गौतमसँग बैंकले दुई करोड ७१ लाख साँवा र नौ लाख ब्याज गरी दुई करोड ८० लाख लिन बाँकी रहेको बताए । बक्यौता तिर्नका लागि गौतमलाई बारम्बार ताकेता गर्दा पनि ऋण बुझाउन नआएको उनले बताए । ऋणी गौतमले बैंकमा धितो राखेको नारायणगढ वडा नम्बर ६ क कि. नं. १५८२ र ऐ. कि. नं. १५८५ को जग्गा र सो जग्गामा रहेको घर बैंकले गतवर्ष माघ २५ गते आफ्नो स्वामित्वमा लिएको बैंकका शाखा प्रमुख गौतमले बताए । ऋणी गौतमले बैंकको स्वामित्वमा रहेको घर खाली गर्न मागेको समय बैंकले दिए पनि म्याद सकिए पनि विभिन्न बहानामा घर खाली गर्न नमानेपछि स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाको सहयोगमा यही साउन १४ गते बैंकले घर खाली गराएको थियो । उक्त घरमा बैंकले लगाएको ताला सात दिनपछि ऋणी गौतमले आफूखुसी तोडेको बैंकका क्षेत्रीय प्रबन्धक गोकर्ण दवाडीले बताए । यो बैंकिङ कसुर भएकोले यसको भागीदार गौतम बन्नै पर्ने दवाडी बताउँछन् ।