Sun01212018

Last update01:57:25 AM

Back You are here: Home अर्थ समाचार चितवनका सहकारीहरूको कारोबारमा ह्रास

अर्थ समाचार

चितवनका सहकारीहरूको कारोबारमा ह्रास

चितवन, २ भदौ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवनका सहकारीहरूको कारोबार घटेको छ ।
आव २०६७÷०६८ मा चितवनका सहकारीहरूले कुल दुई अर्ब ७० करोड ३४ लाख पाँच हजारको आर्थिक कारोबार गरेका थिए । तर २०६८÷६९ मा सहकारीहरूको कारोबारमा कमी आएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार आव २०६८÷६९ मा दुई अर्ब सात करोड ४५ लाख १२ हजारको आर्थिक कारोबार गरेका छन् ।
चितवनमा प्रारम्भिक सहकारी पाँच सय १५, जिल्ला सहकारी एउटा र विषयगत सहकारी गरी कुल छ सय २१ वटा सहकारीले आव २०६८÷६९ मा दुई अर्ब सात करोड ४५ लाख १२ हजारको आर्थिक कारोबार गरेका हुन् ।


जिल्लाका सहकारीले आव २०६८÷६९ मा एक अर्ब ३३ करोड ८५ लाख ३८ हजार बचत निक्षेप, दुई अर्ब ३५ करोड १९ लाख ऋण लगानी र ५४ करोड २७ लाख १९ हजार सेयरपुँजीमा लगानी गरेका छन् ।
त्यस्तै, १९ करोड ३२ लाख ५५ हजार कुल आम्दानी गर्न सफल भएका छन् । त्यसैगरी १५ करोड ७३ लाख चार हजार चितवनका सहकारीले खर्च गरेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सहकारी प्रशिक्षक तथा सूचना अधिकारी श्रीकृष्ण नेपालले जानकारी दिए ।
चितवनका सहकारीले गत आव २०६८÷६९ मा तीन करोड ५९ लाख ५१ हजार नाफा गरेका छन् । चितवनमा पाँच करोडभन्दा बढीको कारोबार गर्ने १३ वटा सहकारी रहेको र करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या ६६ वटा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी भरतपुर नगरपालिकामा एक सय ४२ वटा, रत्ननगर नगरपालिकामा ४७ वटा र ३६ वटा गाविसमा चार सय ३२ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । चितवनको ३६ वटा गाविसमध्ये सबैभन्दा बढी गुञ्जनगर गाविसमा २८ वटा र सबैभन्दा कम लोथर, दाहखानी र काउले गाविसमा एक÷एकवटा सहकारी संस्था रहेको नेपालले जानकारी दिए ।
आव २०६८÷६९ को असार मसान्तसम्ममा सहकारी सेयर सदस्य सङ्ख्या एक लाख १५ हजार चार सय ४१ रहेको छ । जसअन्तर्गत महिलाको सङ्ख्या ५९ हजार पाँच सय ३४ अर्थात ५१ दशमलब ५७ प्रतिशत र पुरुषको सङ्ख्या ५५ हजार नौ सय सात अर्थात ४८ दशमलब ४३ प्रतिशत रहेको छ ।
चितवनमा महिलाद्वारा सञ्चालित सहकारीको सङ्ख्या ८९ रहेको छ । त्यस्तै चितवनमा आर्थिक वर्ष २०६८÷६९ मा चारवटा सहकारीको दर्ता खारेज गरिएको छ भने २९ वटा सहकारी दर्ता खारेजको प्रक्रियामा रहेका कार्यालयका प्रमुख बलराम निरौलाले जानकारी दिए ।
त्यसैगरी चारवटा सहकारी कानुनी रूपबाट पूर्णरूपमा बन्द भएका छन् भने हालसम्म चितवनमा २८ वटा सहकारी बन्द भइसकेका छन् ।
यसैबीच चितवनमा उपभोक्ता पसल चलाएका सहकारीको सङ्ख्या ४२ रहेको छ । जसमा भरतपुर नगरपालिकामा चारवटा, रत्ननगर नगरपालिकामा दुईवटा र ३६ वटा गाविसमा एक÷एकवटा रहेको कार्यालयले जनाएको छ । रासस