Sun01212018

Last update01:57:25 AM

Back You are here: Home अर्थ समाचार घर जग्गाको कारोबारमा सुधारको सङ्केत

अर्थ समाचार

घर जग्गाको कारोबारमा सुधारको सङ्केत

चितवन, २३ भदौ । चितवन जिल्लामा केही वर्षदेखि ओरालो लागेको घर जग्गाको कारोबारमा विस्तारै वृद्धि हुने सङ्केत देखिएको छ । बैंँक र वित्तीय संस्थाले कर्जा प्रवाहमा लचकता देखाएपछि यो सङ्केत देखिएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामामात्रै मालपोत कार्यालय चितवनमा घर जग्गाको कारोबारबाट एक करोड ७१ लाख ६६ हजार राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ९९ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रत्येक आर्थिक वर्षमा घरजग्गाको कारोबारको मूल्याङ्कनमा हेरफेर गरिनुले पनि चालु आर्थिक वर्षको साउनदेखि नै चितवनमा घरजग्गाको कारोबारमा वृद्धि हुने सङ्केत देखिएको मालपोत कार्यालय चितवनका कुश्माकर अधिकारीले बताए । उनले भने—जग्गाको प्रकृति हेरेर मूल्याङ्कन गरिन्छ । त्यसको आधारमा जग्गाको कारोबार हुन्छ र राजस्व बढ्न जान्छ, अनि घर जग्गाको कारोबारमा वृद्धि भएको देखिन्छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ चितवनका अध्यक्ष दिनेश चुकेले पछिल्लो समयमा चितवनमा घर तथा जग्गा किन्नेको चहलपहल बढ्दै गएको बताए । “बैंँक ब्याजदर घटेकाले घर जग्गाको कारोबार क्रमशः उकालो लाग्ने अवस्थामा छ” चुकेले भने ।


मालपोत कार्यालय चितवनका प्रमुख मालपोत अधिकृत घनश्याम उपाध्याय बसाइसराई र रेमिट्यान्सको कारणले गर्दा घर जग्गाको कारोबारमा वृद्धि हुने गरेको तर्क गर्दछन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा घरजग्गाको कारोबार उच्च भएको उपाध्यायले बताए । बैंँक धितो, अंशवण्डालगायतका कारणले गर्दा पनि घरजग्गाको कारोबार बढ्ने गर्दछ—उपाध्यायले भने ।
आव ०६७÷०६८ मा चितवनमा घर जग्गाको कारोबारबाट १५ करोड छ लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो भने आव ०६८÷०६९ मा घर जग्गाको कारोबारमा केही वृद्धि भई १७ करोड ५० लाख आठ हजार राजस्व सङ्कलन भएको थियो ।
आव ०६७÷०६८ र ०६८÷०६९ को घर जग्गाको कारोबारमा भएको अनुपात हेर्दा आव ०६८÷०६९ बाट चितवनमा घर जग्गाको कारोबारमा केही वृद्धि भएको पाइन्छ । आव ०६६÷०६७ मा चितवनमा घर जग्गाको कारोबार ह्वात्तै बढेको थियो । उक्त अवधीमा घरजग्गाको कारोबारबाट २३ करोड ८२ लाख ७९ हजार राजस्व सङ्कलन भएको थियो ।
महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा छुट पाउने व्यवस्था लागू भएपछि चितवनमा महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्ने क्रम पनि उच्च भएको छ । महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा ग्रामीण क्षेत्रमा ३० प्रतिशत र नगर क्षेत्रमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।