Sun01212018

Last update01:57:25 AM

Back You are here: Home अर्थ समाचार दोश्रो पर्यटकीय गन्तव्यमा पर्यटक घटे

अर्थ समाचार

दोश्रो पर्यटकीय गन्तव्यमा पर्यटक घटे

मेघौली, २४ असोज । चितवनकै दोस्रो पर्यटकीय क्षेत्र मेघौलीमा पर्यटक आगमन प्रायः शून्य जस्तै भएको छ । विगतमा पर्यटकको राम्रै चहलपहल हुने मेघौली क्षेत्रमा यस वर्ष फाट्टफुट्टमात्रै पर्यटक आउने गरेको व्यवसायीहरुले बताए ।

पर्यटकको आगमनमा कमी भएपछि पर्यटन वर्षको समयमा मेघौलीमा सञ्चालन भएका होमस्टेको अवस्थासमेत दयनीय बन्दै गएको मेघौली पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । यसैगरी मेघौलीको हवाई मैदानसमेत सञ्चालनमा आउन नसकेको बताइन्छ ।

सरकारले निकुञ्जभित्रको होटलहरुलाई सञ्चालन अनुमति नदिएपछि त्यहाँको होटल टाइगर टप्स बन्द भएको छ । यसअघि टाइगर टप्सका पाहुनाहरु जहाजमा आउने गरेको कारण मेघौली विमानस्थल पनि सञ्चालनमा रहेको थियो । यात्रु अभावमा जहाज आउन छाडेपछि त्यहाँको हवाई मैदान पनि झाडीमा परिणत भएको व्यवसायीले बताए ।

सुरक्षाकर्मीविहीन र असुरक्षित बन्दै गएको विमानस्थल जोगाउन सरकारी र राजनीतिक पहल आवश्यक रहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष केसीले बताए । पर्यटक ओसारेर पर्यटन क्षेत्रमा टेवा पु¥याइरहेको मेघौली विमानस्थल अहिले संरक्षणविहीन हुन पुगेको स्थानीय मायाराम चौधरीले बताए ।

विश्वकै चर्चित हात्तीपोलो खेलाउन प्रयोग गरिने उक्त मैदान पर्यटकको आगमनमा कमी भएपछि ठप्प प्रायः रहेको टाइगर टप्स होटलका व्यवस्थापक रामसिंह गुरुङ बताए ।

मेघौली सौराहापछि पर्यटकीय दृष्टिकोणले दोस्रो ठूलो क्षेत्र हो । यहाँ आधा दर्जन सुविधा सम्पन्न र अन्य साना गरी एक दर्जन बढी होटल सञ्चालनमा छन् । यस्तै अवस्था रहे होटल बन्द गर्नुपर्ने बाध्यता आइलाग्ने व्यवसायीले बताए ।